आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनको पूर्वसन्ध्यामै ठूलो परिमाणमा मदिरा बरामद गएको छ । निर्वाचनको दृष्टिगत गर्दै मदिरा बिक्री–वितरण र सेवनमा कडाइ गरिएको बेला महोत्तरीमा एक इँटाभट्टाबाट ती मदिरा बरामद भएको हो ।
जिल्लाको भंगहा नगरपालिका–५ ढकिया टोलस्थित एक इँटाभट्टामा लुकाइछिपाइ राखिएको अवस्थामा प्रहरीले विशेष सूचनाको आधारमा ती मदिराजन्य पदार्थ बरामद गरेको हो । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक शैलेन्द्र भट्टका अनुसार भट्टाभित्र गोप्य रूपमा भण्डारण गरिएको विभिन्न ब्रान्डका मदिराहरु कार्टुनमा प्याकसहित नियन्त्रणमा लिइएको छ ।
बरामद गरिएको मदिराहरुमा अर्ना बियर ३ कार्टुन, कर्णाली गोल्ड ७ कार्टुन, ब्रिक्स वाइन ३ कार्टुन र ब्ल्याक ओके १७ बोत्तल रहेको महोत्तरी प्रहरीले जनाएको छ । मतदानको ठीक अघिल्लो समयमा ठूलो मात्रामा मदिरा भेटिनुलाई प्रहरीले शंकास्पद रूपमा हेरेको छ । जिल्ला प्रशासन कार्यालय महोत्तरीले निर्वाचनलाई सभ्य, सुव्यवस्थित, भयरहित र शान्तिपूर्ण वातावरणमा सम्पन्न गराउने उद्देश्यले फाल्गुन १४ गतेदेखि जिल्लाभर मदिरा बिक्री–वितरण तथा सेवनमा पूर्ण प्रतिबन्ध लगाएको अवस्थामा विभिन्न आशंकाहरु उत्पन्न भएको जनाएको छ ।
“चुनावलाई लक्षित गरेर मदिरा बिक्री वितरण र सेवनमा निषेध गरिएको छ । मतदानको पूर्वसन्ध्यामा ठुलो मात्रामा मदिराजन्य पदार्थ भेटिएकोले हामीले जफत गरेका हौं । इँटाभट्टामा २५० जनाभन्दा बढी मजदुर कार्यरत छन्, तर त्यहाँ कुनै राजनीतिक दलको झण्डा, पर्चा वा पम्प्लेट भने भेटिएन ।” प्रमुख जिल्ला अधिकारी इन्द्रकुमार यादवले जनाएको छ । हाल प्रतिनिधि सभा निर्वाचनलाई मध्यनजर गर्दै नेपाल– भारत सीमा क्षेत्रमा कडाइ गरिएको छ ।
७२ घण्टासम्म सीमा नाका सिल गरिएपछि अवैध कारोबारमा संलग्न समूहहरूले वैकल्पिक रणनीति अपनाएको हुन सक्ने अनुमान गरिएको छ । प्रहरी स्रोतका अनुसार, सीमा बन्दले तस्करी सञ्जाललाई अस्थायी रूपमा रोक लगाए पनि गोदाम वा उद्योगजस्ता स्थानमा सामान लुकाएर राख्ने प्रवृत्ति बढेको देखिएको छ । प्रहरीले बरामद मदिरा नियन्त्रणमा लिएर आवश्यक कानुनी प्रक्रिया अघि बढाएको जनाएको छ ।
मदिरा कसले ल्यायो, किन भण्डारण गरियो, यसको अन्तिम गन्तव्य कहाँ थियो भन्ने विषयमा विस्तृत अनुसन्धान भइरहेको प्रवक्ता भट्टले जानकारी दिए। भट्टाका अनुसार इँटाभट्टा सञ्चालक र सम्बन्धित व्यक्तिहरूसँग बयान लिने कार्य जारी छ ।



