रौतहट जिल्लाका चारवटै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा सामान्य विवादबाहेक शान्तिपूर्ण तथा भयमुक्त वातावरणमा मतदान सम्पन्न भएको छ। बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा जिल्लाभर करिब ६० प्रतिशत मतदान भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।
रौतहटका चार निर्वाचन क्षेत्रमा गरी कुल ४ लाख ३६ हजार ६११ मतदाता रहेका छन्। निर्वाचनलाई सुरक्षित र व्यवस्थित बनाउन जिल्लाभरका १५२ मतदान केन्द्रलाई अति संवेदनशील सूचीमा राखिएको थियो। कुनै स्थानमा विवाद भएमा जानकारी प्राप्त भएको १० मिनेटभित्र संयुक्त सुरक्षा टोली घटनास्थलमा पुग्ने व्यवस्था गरिएको प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले बताए।
जिल्ला निर्वाचन अधिकारी छोटेलाल दासका अनुसार विगतका निर्वाचनको तुलनामा प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ शान्तिपूर्ण, निष्पक्ष र भयमुक्त वातावरणमा सम्पन्न भएको छ।
यसैबीच, रौतहट क्षेत्र नम्बर २ बाट नेपाली कम्युनिष्ट पार्टीका प्रतिनिधिसभा सदस्य उम्मेदवार किरण साहले पार्टी परित्यागको घोषणा गरेका छन्। उनले आफ्नो आधिकारिक फेसबुकमार्फत पार्टी छोडेको जानकारी दिएका हुन्।
साहले भने निर्वाचनका क्रममा सरकारले भरपर्दो सुरक्षा व्यवस्था गर्न नसकेको आरोप लगाउँदै नेपाली कांग्रेसका कार्यकर्ताले क्षेत्र नम्बर २ का ८ वटा मतदान केन्द्रमा धाँधली गरेको दाबी गरेका छन्।
‘अर्काको नाममा मत खसाल्ने काम भएको छ, प्रहरी प्रशासन मूकदर्शक बनेर बसेको छ,’ भन्दै उनले आपत्ति जनाएका छन्।
तर प्रमुख जिल्ला अधिकारी भुसालले धाँधलीको आरोप अस्वीकार गरेका छन्। उनका अनुसार केही स्थानमा सामान्य विवाद भए पनि गम्भीर अनियमितता भएको जानकारी प्राप्त भएको छैन।
भुसालका अनुसार बिहान ७ बजेदेखि सुरु भएको मतदान अपराह्न ४ बजेर ५० मिनेटसम्म करिब ६० प्रतिशत मत खसेको छ।
उनले जनकपुर टुडे सँग कुराकानी गर्दै मतदान प्रक्रिया शान्तिपूर्ण रूपमा सम्पन्न भएको र अहिले मतपेटिका सुरक्षित रूपमा ढुवानी गर्ने कार्यमा प्रशासनको ध्यान केन्द्रित रहेको बताए।
निर्वाचनलाई शान्तिपूर्ण बनाउन जिल्लाभर नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीसहित १० हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको थियो।



