२०८२ फाल्गुन २३, शनिबार ०६:०७

प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ को सम्पन्न मतदान पछिको मतपरिणाममा मधेशसहित देशव्यापी रुपमा राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का वरिष्ठ नेता बालेन्द्र साह उर्फ बालेनको क्रेज छाएको छ ।

मधेश प्रदेशमा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको क्रममा मतपेटिकाको मतपरिणाम अनुसार बालेन साह हावी भएको छ । उनी हावी हुँदा मधेशकेन्द्रित दलहरूलाई अहिलेको चुनावमा निकै महँगो सावित हुने अहिलेको मत परिणामबाट देखिन्छ ।

२०६४ मा भएको मधेश आन्दोलनको जगमा उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल, सीके राउत नेतृत्वको जनमत पार्टी, महन्थ ठाकुरको नेतृत्वको तत्कालीन लोसपा नेपाल, राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी नेपाललगायतका मधेश केन्द्रित दलहरु आन्दोलनको बलमा पटकपटक मधेश प्रदेश सरकारसमेत अगुवाइ ग¥यो ।

तर मधेश आन्दोलनको बलमा उदियमान महन्थ ठाकुर र उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल, जनमत पार्टी, राष्ट्रिय मुक्ति पार्टी नेपालको अवस्था यस प्रतिनिधिसभा सदस्य निर्वाचनमा मधेशको ब्यालेटमा विलिन हुने कगारमा पुगेको टिप्पणी हुन थालेको छ । अहिले बालेनको क्रेजका कारण मधेश प्रदेशबाट मधेश केन्द्रित दलसहित नेपाली कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टीसमेतको पत्तासाफ हुने भन्दै चर्चा चुलिएको छ ।

जबकी कुनै बेला यी दलहरुले आफ्नो जनमत बलियो बनाएका थिए । त्यही जनमतका आधारमा मधेश प्रदेशमा वर्चश्व राख्दै आएका मधेश केन्द्रित दल जसपा नेपाल, जनमत पार्टीलगायतलाई अहिलेको निर्वाचन भारी भएको छ । उनीहरूलाई अहिले जनमत जोगाउन सकस परेको देखिन्छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)संगै बालेन साहको क्रेजले मधेशमा अरुको जनमत कमजोर बनाएको अवस्था देखिन्छ । मधेश प्रदेशमा रास्वपाको चुनाव चिह्न घण्टी र बालेन साहको प्रभाव निकै बलियो बन्दा मधेश केन्द्रित दलसहित अन्य दल ब्यालेटमा निकै कमजोर देखिएको छ । जुन कुरा मतपेटिकामा रहेको ब्यालेट (मतपत्र) बाट पुष्टि भएको छ ।

मधेश प्रदेशमा प्रभावशाली रहेका नेताहरू उपेन्द्र यादव, सीके राउत, राजेन्द्र महतो, राजकिशोर यादव, शरतसिंह भण्डारीलगायतका नेतालाई चुनावी प्रतिस्पर्धामा चुनौती थपिएको छ । उपेन्द्र र महन्थको कार्यशैलीको विरोध गर्दै मधेशको वैकल्पिक शक्तिको रुपमा अघिल्लो चुनावबाट उदाएको जनमत पार्टीलाई पनि अहिले थप समस्यामा परेको छ ।

पछिल्ला दिनमा उसको घट्दो क्रेजमा बालेन साहको प्रभावले झनै समस्यामा पारेको देखिन्छ । मधेशमा पछिल्ला दिनमा मधेश केन्द्रित दलहरूको प्रभाव स्वाभाविक रूपमा घट्दो थियो । अघिल्लो चुनावमा मधेशमा एमालेको प्रभाव बढेको थियो । कांग्रेसको विरासत जोडिएको मधेश प्रदेशका यसपटक सभापति गगनकुमार थापा नै चुनावी मैदानमा उत्रिएका थिए । जसले गर्दा कांग्रेसजनमा उत्साह थपिए पनि ब्यालेटमा भने प्रकट भएको देखिएन ।

कांग्रेसका प्रभावशाली नेता विमलेन्द्र निधि नै रास्वपाका उम्मेदवार मनिष झाभन्दा भारी मतले पछाडि छन् । मधेश केन्द्रित दलले मधेश आन्दोलनको जगमा मत ल्याउन परिणाम ल्याए पनि सो अनुसार मधेशी जनताको मत अनुसार काम नगर्दा उनीहरुलाई पनि यसपटक मतदाताले नपत्याएको रास्वपाका नेता जितेन्द्र महासेठको भनाइ छ ।

Comment


Related News

Latest News

Trending News