जेन– जी आन्दोलनको परिणामस्वरुप भएको मध्यावधि निर्वाचनले परम्परागत दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमालेलाई झड् का लागेको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पक्षमा देखिएको जनलहरकार कारण दलले ऐतिहासिक हार व्यहोरेका छन् ।
निर्वाचनको प्रारम्भिक रुझानले नै रास्वपा स्पष्ट बहुमतसहित देशको पहिलो राजनीतिक शक्तिका रुपमा स्थापित हुने निश्चित गरेको छ । अहिलेको ट्रेन्ड हेर्दा रास्वपा दुई तिहाइकै नजिक पुग्नसक्ने विश्लेषण हुन थालेको छ ।
कांग्रेस–एमाले चाहिँ अब ‘राष्ट्रिय पार्टी’ को हैसियत कायम राख्ने ध्याउन्नमा लागेका छन् । यी दुईमध्ये कुन दल दोस्रो हुन्छ भन्ने पनि चासो बनेको छ । अहिलेसम्मको स्थितिमा कांग्रेस एमालेभन्दा अघि देखिन्छ । यसपटकको नतिजाले कांग्रेस–एमाले नभएर सबै पुराना राजनीतिक दलहरुप्रति मतदाताको विश्वास उडिसकेको संकेत गर्छ ।
राजावादी रहेको राप्रपादेखि मधेश केन्द्रित दलसम्म विजोकसंग ढलेका छन् । थुप्रै साना दलहरुको अस्तित्व संकटमा परेको छ ।
तीनजना पूर्वप्रधानमन्त्रीहरुसहित २ हजार ४ सय ९९ जनाको केन्द्रीय समिति भएको पुष्पकमल दाहाल प्रचण्डले नेतृत्व गरेको नेपाली कम्युनिष्ट पार्टीले समेत राष्ट्रिय पार्टीको मान्यता पाउनेमा सकस देखिएको छ । नेपाली कांग्रेसले ‘ बदल्यौँ कांग्रेस, बदल्छौँ देश’ भन्ने नारासहित प्रतिनिधिसभा निर्वाचनमा होमिएको थियो ।
तर सो अनुसार जनताले अपेक्षाकृत समर्थन नदिएको देखिएको छ । कांग्रेसमा नेतृत्व परिवर्तन भए पनि मतदाताको मन जित्न कांग्रेस असफल भएको चुनावी परिणामले संकेत गरेको छ । २००३ सालमा राणा शासन अन्त्य गर्ने उद्देश्यसहित बिपी कोइराला लगायतका नेताहरूले स्थापना गरेको कांग्रेस करिब आठ दशकसम्म नेपालको राजनीतिमा प्रभावशाली शक्ति रहँदै आएको थियो ।
२००७ सालमा १०४ वर्ष लामो राणा शासनको अन्त्यदेखि ३० वर्षे पञ्चायती व्यवस्थाको अन्त्य गरी प्रजातन्त्र स्थापनासम्मका महत्वपूर्ण राजनीतिक परिवर्तनमा कांग्रेसको अग्रणी भूमिका रहेको थियो । त्यस्तै सशस्त्र संघर्षमा रहेको तत्कालीन नेकपा माओवादीलाई शान्तिपूर्ण राजनीतिमा ल्याउने प्रक्रिया, २४० वर्ष पुरानो राजतन्त्रको अन्त्य तथा संविधानसभामार्फत २०७२ सालमा नयाँ संविधान जारी गर्नेसम्मका ऐतिहासिक घटनामा पनि कांग्रेसले महत्वपूर्ण नेतृत्व गरेको थियो ।
पछिल्ला वर्षहरूमा भ्रष्टाचार, कुशासन र कमजोर आर्थिक प्रगतिप्रति जनतामा असन्तुष्टि बढेको छ । नागरिकहरूले सुशासन र तीव्र आर्थिक विकासको अपेक्षा कांग्रेसबाट गरे पनि सत्ता, गुटबन्दी र व्यक्तिगत स्वार्थमा नेताहरू अल्झिँदै जाँदा पार्टी जनताबाट टाढिँदै गएको विश्लेषण गरिन्छ ।
कांग्रेसको १४औँ महाधिवेशनबाट पार्टीमा केही युवा नेतृत्व अगाडि आएको थियो । सभापतिमा शेरबहादुर देउवा दोहोरिँदा करिब ३० वर्ष कान्छा विश्वप्रकाश शर्मा र गगनकुमार थापा महामन्त्री बनेका थिए । तर महाधिवेशनपछि भएको तीन तहको निर्वाचनमा कांग्रेसको मत अपेक्षाअनुसार बढ्न सकेन ।
करिब ९ लाख क्रियाशील सदस्यता बनाएको कांग्रेसले पछिल्लो आमनिर्वाचनमा २७ लाख १५ हजार २२५ (२५.७१ प्रतिशत) मत पाएको थियो । पार्टीभित्र विधि र विधानअनुसार सञ्चालन हुन नसकेको आरोप नेतृत्वमाथि लाग्दै आएको छ । भ्रातृ संगठनहरू, विशेषगरी नेपाल विद्यार्थी संघको महाधिवेशन लामो समयसम्म हुन नसक्दा संगठनहरू तदर्थवादमै चलेको अवस्था रहेको छ ।
नेताहरू जनहितभन्दा गुटबन्दी, धनवाद र शक्ति संघर्षमा केन्द्रित हुँदा पार्टीको जनाधार कमजोर हुँदै गएको विश्लेषकहरू बताउँछन् । पार्टीभित्रको आन्तरिक विवाद र नेतृत्व परिवर्तनका विषयले पनि चुनावी परिणामलाई असर गरेको देखिएको छ । काठमाण्डुमा भएको विशेष महाधिवेशनबाट गगनकुमार थापाको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरी कांग्रेस निर्वाचनमा होमिएको थियो ।
तर पार्टीभित्रै परिवर्तन चाहने र पुरानै शैली कायम राख्न चाहने समूहबीचको द्वन्द्वले कांग्रेसलाई कमजोर बनाएको बताइएको छ । २०७४ को निर्वाचनको तुलनामा २०७९ मै ७ लाख ५४ हजार मत गुमाएको कांग्रेसले पछिल्लो निर्वाचनमा प्रत्यक्षतर्फ मात्र होइन समानुपातिकतर्फ पनि अघिल्लोभन्दा कम मत पाउने सम्भावना देखिएको छ ।
विशेष महाधिवेशनबाट नेतृत्व परिवर्तन गरेपछि देउवासहित उनीनिकट शीर्ष नेताहरू चुनावको पक्षमा खुलेनन् । देउवाको गृहजिल्ला डडेल्धुरामा समेत रास्वपा अगाडि देखिएको छ । कांग्रेसले नैनसिंह महरलाई उम्मेदवार बनाएको छ । आफू नेतृत्वबाट बर्हिमन भएपछि देउवा चुनाव छल्नकै लागि सिंगापुर गएका छन् । देउवा दम्पत्ति भोट हाल्न समेत फर्केनन् ।


