देशमा राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) बाट सर्लाही निर्वाचन क्षेत्र नम्बर ४ मा डा.अमरेश कुमार सिंह निर्वाचित भएका छन् ।
नेपाली कांग्रेसका सभापति गगन कुमार थापालाई पराजित गरेका छन् । उनी लगातार चौथोँ पटक सर्लाही जिल्लाको निर्वाचन क्षेत्र नम्बर ४ बाट विजयी भएका हुन् ।
नेपाली कांग्रेसले थापालाई प्रधानमन्त्रीको रुपमा प्रस्ताव गर्दै सर्लाही जिल्लाको निर्वाचन क्षेत्र नम्बर ४ बाट उम्मेदवार बनाएको थियो । भाषा र भूगोलको विषयमा जानकार नरहेका थापालाई चुनावमा मतदाताहरुसित दोहोरो संवादमा समेत समस्या देखिएको थियो ।
मधेशीको भावना अनुकूल कार्य गर्ने डा.सिंहले कयौं पटक प्रतिनिधि सभामा कयौं महत्वपूर्ण मुद्दाहरु उठाएर अत्यन्त चर्चामा रहेका थिए । उनले भ्रष्टाचार, सामाजिक न्याय, शिक्षा, स्वास्थ्यलगायतका विषयलाई प्राथमिकताका साथ संसदमा उठाउने गरेका थिए । तीन पटक सांसद हुँदा पनि उनी सरकारमा भने गएनन् ।
कांग्रेसको गुटबन्दीको शिकार हुने गरेका डा.सिंह भने आफ्ना विचारमा अडिग रहँदै आएका छन् । रास्वपाले जनकपुरधाममा आयोजना गरेको ‘परिवर्तनको उद्घोष’ सभामा डा.सिंहले बालेनलाई प्रधानमन्त्री बनाउन नसके जनकपुरधामको बाह«बिघा(रंगभूमि) मैदानमा आत्मदाह गर्ने उद्घोष गरेका थिए ।
सो घोषणाबाट उनी देशभरि नै चर्चा पाएका थिए । डा.सिंहको विजयी यात्रालाई रोक्न नेपाली कांग्रेस सर्लाहीका नेताहरु सुरेन्द्र सिंह, मधेश प्रदेशका पूर्वमन्त्री वीरेन्द्र सिंह लगायतले सभापति थापालाई भिडाएको कांग्रेसजनहरुले आरोप लगाएका छन् । डा.सिंहलाई हरेक दलका समर्थक मतदाताहरुले मतदान गरेको स्थानीयहरुले बताएका छन् ।
सिंह जित्न नसके आत्मदाह गर्ने प्रतिबद्धतालाई उनका समर्थकहरुले जनजनसम्म पु¥याउँदै आत्मरक्षाका लागि मतदान गर्न भावनात्मक आग्रह गरेका थिए । उनको जितले सो क्षेत्रमा कांग्रेस मात्र नभइ, एमाले, नेकपा, जसपा नेपाललगायतका दलहरुको अवस्था अत्यन्त खराब भएको छ । स्वतन्त्र जितेको धेरै पछि अर्थात संसद विघटन भएपछि मात्र उनी रास्वपामा प्रवेश गरे ।



