२०८२ फाल्गुन २४, आईतवार ०७:३९

धनुषा ३ बाट प्रतिनिधि सभा सदस्यमा नवनिर्वाचित रास्वपाका उम्मेदवार मनीष झाले जनताले दिएको आफ्नो जिम्मेवारी इमान्दारीपूर्वक सम्हाल्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

शनिबार निर्वाचित भएपछि जनकपुरधाम आयोजित एक सभामा संचारकर्मीसँग कुरा गर्दै भने आफूले जनताले दिएको विश्वासलाई सम्मान गर्दै काम गर्ने बताएका हुन् । उनले यसअघि यस क्षेत्रबाट निर्वाचित भएका नेताहरूलाई स्मरण गर्दै उनीहरूप्रति कृतज्ञता व्यक्त गरे ।

झाले भने, “बिमलेन्द्र निधि, जुली महतो, राजेन्द्र महतो र सञ्जय साह लगायतका नेताहरूले आफ्नो जिम्मेवारी सम्हालिसक्नुभएको छ । उहाँहरूप्रति कृतज्ञता व्यक्त गर्दै अब म पनि आफ्नो जिम्मेवारी इमान्दारी र निष्ठापूर्वक निर्वाह गर्नेछु ।” उनले जनकपुरधामको विकासका लागि ठोस परिणाम दिने काम गर्ने प्रतिबद्धता जनाए ।

जनताले आफू माथि गरेको विश्वासलाई कुनै पनि हालतमा नटुट्न दिने उनको भनाइ थियो । उनले जनकपुरधामको समग्र विकासका लागि खानेपानी तथा सरसफाइ व्यवस्थापन, सार्वजनिक सम्पत्तिको संरक्षण, रेलवे र विमानस्थललाई प्रभावकारी बनाउने लगायतका योजनामा काम गर्ने बताए ।

साथै खेलकुद, शिक्षा र सांस्कृतिक धरोहरको संरक्षण तथा प्रवद्र्धन गर्दै पर्यटन र अर्थतन्त्रसँग जोडेर रोजगारी सिर्जना गर्ने योजना पनि अघि सार्ने उनले बताए । जनकपुरधाममा देखिएको खानेपानी समस्या समाधानका लागि यहाँ रहेका पोखरीहरूलाई व्यवस्थित गर्दै पानी व्यवस्थापन सुधार गर्ने योजना रहेको उनले बताए ।

साथै यहाँका कुट्टी तथा धार्मिक संरचनाको संरक्षणका लागि गुठी संस्थान सँग समन्वय गरेर अघि बढ्ने प्रतिबद्धता पनि व्यक्त गरे । निर्वाचित भएपछि झाले जनकपुरधाम स्थित विभिन्न मठ–मन्दिरमा पुगेर दर्शन तथा पूजापाठ गरेका थिए । त्यसैगरी उनले आफ्ना निकटतम प्रतिस्पर्धी रहेका नेपाली कांग्रेसका नेता बिमलेन्द्र निधि सँग भेटघाटसमेत गरेका छन् ।

Comment


Related News