२०८२ फाल्गुन २६, मंगलवार ०८:०५

नेपाली कम्युनिस्ट पार्टी(नेकपा) ले धनुषा–१ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार रहेका मातृका प्रसाद यादवलाई निर्वाचित भएको प्रमाण पत्र निर्वाचन अधिकृतको कार्यालयले सोमबार साँझ हस्तान्तरण गरेको छ ।

नेकपाका कार्यकर्ता तथा समर्थकहरुको व्यापक दबाबपछि निर्वाचन अधिकृतको कार्यालयले यादवलाई निर्वाचित भएको प्रमाणपत्र हस्तान्तरण गरेको छ । निर्वाचन आयोगले रास्वपाका उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेज गरे पनि उनलाई आएको मतको लगत राख्न भनेको थियो । तर त्यसको अर्को दिन पुनः पत्र जारी गर्दै निर्वाचित भएकालाई प्रमाणपत्र उपलब्ध नगराउन आदेश दिएपछि मतगणना सम्पन्न भएको एक दिनपछि मात्रै निर्वाचित भएको प्रमाणपत्र कार्यालयले उपलब्ध गराएको छ ।

यता पार्टी केन्द्रीय कार्यालयका सचिव गोविन्द आचार्यले विज्ञप्ति जारी गर्दै निर्वाचन आयोगले निर्वाचन ऐन, २०७४ बमोजिम राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार किशोरी साह कमलको उम्मेदवारी खारेज गरिसकेकोमा विजयी उम्मेदवार यादवलाई प्रमाणपत्र नदिनु गम्भीर विषय भएको बताएको छ ।

निर्वाचन आयोग स्वयम्ले फागुन २२ गते मत गणना गरी परिणाम घोषणा गर्न दिएको निर्देशन बमोजिम सबै उम्मेदवारका प्रतिनिधिहरूको उपस्थितिमा मतगणनासमेत भइ नेकपाका उम्मेदवार यादव विजयी भइसक्दा पनि प्रमाणपत्र दिन आलटाल गर्नुका साथै निर्वाचन प्रक्रिया र स्थापित विधि विपरीतका कार्य हुनु चिन्ताजनक विषय भएको उल्लेख छ । आयोगले राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को पत्रको आधारमा मतपरिणाम सार्वजनिक गरिए पनि निर्वाचित भएका यादवलाई प्रमाणपत्र दिन आलटाल गर्दै आएको थियो ।

Comment


Related News

Latest News

Trending News