नेपाली कांग्रेसका सभापति गगन थापा प्रतिनिधि सभाको निर्वाचनको सर्लाही–४ बाट पराजित भएका छन् । मेहनत गर्दागर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन साहको चलेको जनलहरले उनलाई जित्नबाट छेक्यो । उनी कडा मेहनत गरेपनि किन जित्न सकेन भने विभिन्न अडकलवाजी भइरहेको छ ।
सर्लाही–४ को प्रचारका लागि कम समय दिए पुग्ने पूर्व आकलन गरी देशभर कांग्रेसको चुनावी प्रचारमा उनी सहभागी हुन पाउने मनसायले थापाले यो क्षेत्र रोजेका थिए । सर्लाही–४ मा प्रचारका लागि धेरै समय खर्चिनु नपर्ने भन्दै सभापति थापालाई क्षेत्रका नेताहरुले विश्वस्त गराएका थिए । सर्लाहीका नेताहरुका अनुसार पूर्व जिल्ला सभापति सुरेन्द्र सिंह, वीरेन्द्र सिंह लगायतले सभापति थापालाई यो क्षेत्रको उम्मेदवार बनाउनका लागि बढी जोड गरेका थिए । सर्लाही–४ मा कम समय दिएर देशव्यापी प्रचारमा निस्कने पूर्व आकलन मिल्न सकेन ।
साथै, कडा मिहिनेतको बाबजुत परिणाम उनको पक्षमा आएन । प्रतिनिधि सभामा तीनपटक निरन्तर निर्वाचित सभापति थापा क्षेत्र परिवर्तन गरेर सर्लाही–४ पुग्दा पराजय भोगे । रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाहको लहर छाएको बेला सभापति थापा पनि पराजित भए । सभापति थापाका प्रतिस्पर्धी अमरेश सिंहलाई बालेन्द्र शाहलाई देखाएर मत माग्ने सुविधा थियो । बालेन्द्र स्वयं रोड शो गरेर सर्लाही पुगेर अमेरशको पक्षमा माहोल बनाउने कार्य गरेका थिए ।
बालेन्द्रले रोड शो गरेको केही दिनपछि रास्वपा सभापति रवि लामिछाने मलङ्गवा पुगेर थापा लक्षित अभिव्यक्ति दिएका थिए । थापालाई लक्षित गर्दै मतदातासँग रविले भनेका थिए,‘ठाउँको ठाउँको रोक्नुहोस् ।’ मधेसमा छाएको बालेन्द्रको लहरले रास्वपाप्रति मत खनियो । मधेसका ३२ क्षेत्र मध्ये ३१ क्षेत्रमा रास्वपाले जित्यो । पुरानो सत्तालाई विस्थापित गर्न जनताले रास्वपालाई मत दिएको र नयाँ तरिकाले देश सञ्चालन होस् भन्ने अपेक्षासहित बालेनलाई हेरेर मत खसेको सर्लाही क्याम्पसका पूर्व प्रमुख कृष्णदेव यादव बताउँछन् ।
यादवले अनलाइनखबरसँग भने,‘मधेसले बालेनमा आशा देखेर मत दिएको हो । उहाँले राम्रोसँग व्यवस्थापन गर्नसक्नु भएन भने फेरि आन्दोलन नहोला भन्न सकिन्नँ ।’ कांग्रेस सभापति थापा सर्लाही–४ मा पराजित हुनुमा ‘बालेन फ्याक्टर’ प्रमुख कारण त छँदै थियो । पार्टीभित्रको आन्तरिक वैमनस्यता, सभापतिलाई लान जोडबल गर्नेहरुप्रति क्षेत्रका नागरिकको बुझाईले प्रतिकूल मत आउनुमा कारण रहे ।
विभिन्न दलका नेता कार्यकर्ता, समाजका अगुवाहरू कांग्रेसमा प्रवेश हुँदा समेत उनीहरुले मत ट्रान्सफर आशा गरे अनुरुप गराउन नसक्दा मतान्तर बढ्यो । स्थानीय नेताहरुका अनुसार मधेस प्रदेशका उपसभापति एवं प्रदेश सांसद वीरेन्द्र सिंह र सर्लाहीको पूर्व सभापति सुरेन्द्र सिंहप्रति धुमिल छविले सभापति थापालाई प्राप्त हुने मत घटेको भन्ने आरोप कांग्रेस कार्यकर्ताहरुबाट नै आइरहेको छ ।
स्थानीय तहको निर्वाचनमा लोसपाबाट निर्वाचित भएका यादवले चुनाव हुनु केही दिन अघि सर्लाहीका पत्रकारहरुसँग कुरा गर्ने क्रममा जसपा नेपालले जित्ने अवस्था नहुँदा अमेरशलाई जिताउन उपयुक्त हुने विचार राखेका थिए । जसपा नेपालका उम्मेदवार रामेश्वर राय यादवले मात्रै १८४ मत प्राप्त गरे । जबकी, यस क्षेत्रमा अघिल्लोपटक जसपा नेपालका राकेशकुमार मिश्रले ५ हजार ८१३ मत ल्याएका थिए ।
जसपाले अघिल्लोपटक पाएको बहुसंख्यक मत रास्वपाका उम्मेदवारलाई ट्रान्सफर भएको कांग्रेसका नेता कार्यकर्ता दाबी गर्छन् । सभापति थापा सर्लाही पुगेर दर्जनौं फरक दलका दर्जनौं नेता कार्यकर्तालाई प्रवेश गराए । जसपाका नेताहरू मनीष मिश्र, केदारनन्दन चौधरी, केदार सिंह, अभय सिंह, सुशील मिश्र लगायत कांग्रेसमा प्रवेश गरेका थिए ।
अघिल्लोपटक यसै क्षेत्रका उम्मेदवार बहुजन एकता पार्टीका राजाराम पासवानदेखि गत चुनावमा अमरेशलाई सघाएका कमलेश्वर र रविनन्दन चौधरीलाई पनि सभापति थापाले प्रवेश गराएका थिए । लोसपाका पूर्वमहासचिव समेत रहेका यसै क्षेत्रको रामनगर गाउँपालिकाका मिश्रले आफ्नो पालिकाबाट सभापति थापाले लिड गर्ने दाबी गरेपनि मतान्तर घट्न सकेन ।
बलराका पूर्वप्रमुख समेत रहेका अभय सिंहले आफ्नो पालिकाबाट कांग्रेसको पक्षमा उल्लेख्य मत खसाउन सकेनन् । बलराबाट मतगणना सुरु गरेसँगै अमेरशले अग्रता लिएका थिए । सभापति थापाले प्राप्त गरेको मत र अमरेशले प्राप्त गरेको मतको आधारलाई विश्लेषण गर्दा यसपटक मत बढी प्रतिस्पर्धा द्विपक्षीय देखिएको छ ।
सभापति थापालाई यस क्षेत्रका मतदातासँग दोहोरो संवाद गर्न लागि भाषाले समस्या पारेको थियो । मूलतः महिलाहरुसँग दोहोरो संवाद गर्न कठिन भएको उनले प्रचारकै क्रममा भनेका थिए । उनीहरुका कुरा बुझेपनि आफ्नो धारणा उनीहरुलाई सुनाउन कठिन भएको सभापति थापाले बताएका थिए । क्षेत्रमा पुगेसँगै प्रचारलाई व्यापकता दिएका सभापति थापाले युवा र महिलाहरुको भेला राखेका थिए ।
प्रचार घरदैलोको क्रममा कतिपय समस्या व्यक्तिगत तवरले हल गर्न सकिने विषयलाई समाधान पनि गरिदिएका थिए । तर, विशेष महाधिवेशन गरेर ‘ परिवर्तित कांग्रेस’ लिएर मतदाताकहाँ आइपुगेको बुझाउन उनलाई समय पर्याप्त भएन ।


