२०८२ फाल्गुन २६, मंगलवार ०८:२४

मधेश प्रदेशमा प्रतिनिधि सभाको निर्वाचनका लागि मनोनयन दर्ता हुनु केही दिनअघि हतारहतारमा राजीनामा दिएर चार जना प्रदेश सांसदले उम्मेदवार बनेका थिए, तीमध्ये एकजना पूर्व मुख्यमन्त्री, एकजना पूर्व सभामुख र एक/एक जना पूर्व मन्त्री तथा राज्यमन्त्री थिए ।

डेढ वर्ष कार्यकाल बाँकी हुँदाहुँदै प्रदेशसभाको पद छाडेर संघीय चुनावमा होमिएका यी नेतामध्ये एक जना बाहेक तीन जनाले हार नै व्योहर्नु परेको छ । प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवार बन्न मधेश प्रदेशसभाबाट राजीनामा दिएका मध्ये पूर्व मुख्यमन्त्रीमा थिए सतिश सिंह, पूर्व सभामुखमा थिए एमालेका रामचन्द्र मण्डल, नेकपाका पूर्व अर्थमन्त्री भरत साह र नेकपाकै पूर्व राज्यमन्त्री रहबर अन्सारी ।

बारा ४ बाट रास्वपाबाट उम्मेदवार बनेका रहबर अन्सारी मात्र विजयी भएका छन् भने अन्य उम्मेदवार पूर्व सभामुख मण्डल बाहेक पूर्व मुख्यमन्त्री सिंह र अर्थमन्त्री साहले जमानत समेत बचाउन सकेनन् ।

पूर्व सभामुख मण्डल धनुषा १ बाट उम्मेदवार बनेका छन् । हाल सो क्षेत्रको मत परिणाम विवादमा परेको कारण मत परिणाम सार्वजनिक हुन सकेको छैन ।

सप्तरी २ बाट आफ्नै छुट्टै पार्टी गठन गरी स्वाभिमान पार्टीबाट उम्मेदवार बनेका पूर्वमुख्यमन्त्री सिंहले मात्र ३ हजार ५५७ मत ल्याउन सकेका छन् । यो मतले उनको जमानत समेत जफ्त भएको छ । यस्तै महोत्तरी ४ बाट उम्मेदवार बनेका पूर्व अर्थमन्त्री साहले ५ हजार ३३६ मत ल्याएका छन् ।

जबकि सप्तरी २ मा विजयी उम्मेदवार रास्वपाका रामजी यादवले २८ हजार ४०४ मत ल्याएका छन् भने साह उम्मेदवार रहेका क्षेत्रमा रास्वपाका गौरी कुमारीले ३० हजार १३२ मत ल्याएका छन् । प्रदेशसभाको पद छाडेर संघीय निर्वाचनमा जाने लोभमा पराजित भएकाहरुको प्रतिनिधि सभा सदस्य त पाउन सकेनन् । प्रदेश सभाको पद समेत गुमेको छ ।

राजनीतिक विश्लेषक डा. सुशिल यादव भन्छन् पाँच वर्षे कार्यकालका लागि जनताले मत दिएपछि जनप्रतिनिधिले संघीय पदको लोभमा आफ्नो पद छाडेर जानु भनेको जनताको मतप्रति इमानदार नहुनु । उनले कार्यकाल पूरा नहुँदै बीचैमा छाडेर जानु आफ्ना मतदातालाई धोका दिए जस्तै रहेको उनको भनाई छ ।

Comment


Related News

Latest News

Trending News