अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार राति इरानमाथि ठूलो हमलाको चेतावनी दिंदै यदि इरानले स्ट्रेइट अफ हर्मुजमा तेल आपूर्ति रोक्ने प्रयास गर्योो भने अमेरिकाले त्यसको २० गुणा बढी शक्तिशाली हमला गर्ने चेतावनी दिएका छन्।
उनले शत्रु पूर्ण रूपमा समाप्त नभएसम्म युद्ध जारी रहने पनि बताएका छन्। ट्रम्पका अनुसार युद्ध सुरु भएदेखि अमेरिका र इजरायल मिलेर इरानभित्र ५,००० भन्दा बढी सैन्य तथा रणनीतिक ठेगानामा आक्रमण गरिसकेका छन्।
उनले केही अत्यन्त महत्वपूर्ण ठेगानालाई भने जानाजानी अहिले निशाना नबनाइएको, आवश्यक परेपछि मात्र कारबाही गर्नका लागि सुरक्षित राखिएको बताए। फ्लोरिडामा आयोजित पत्रकार सम्मेलनमा ट्रम्पले अमेरिका र इजरायलले युद्धमा ठूलो रणनीतिक अग्रता हासिल गरिसकेको दाबी गरे।
उनले यो लडाइँ छिट्टै अन्त्य हुन सक्ने सम्भावना रहेको बताए पनि हालका लागि सैन्य अभियान जारी रहने स्पष्ट पारे। ट्रम्पले इरानविरुद्धको कारबाहीमा अमेरिका धेरै हिसाबले पहिल्यै सफल भइसकेको तर अझै पूर्ण विजय हासिल नभएको बताए। उनका अनुसार अमेरिका अब अझै बलियो ढंगले अघि बढ्दै अन्तिम विजय प्राप्त गरेर यो खतरा सधैँका लागि समाप्त गर्ने लक्ष्यमा छ।
रिपब्लिकन नेताहरूको बैठकमा उनले भने, ‘यो सैन्य अभियान सकिएपछि विश्व पहिलेभन्दा धेरै सुरक्षित हुनेछ।’ उनले यो अभियान छिट्टै समाप्त हुन सक्ने सम्भावना रहेको बताए। ट्रम्पले युद्ध चाँडै अन्त्य हुने संकेत दिएपछि तेलको मूल्य घट्यो सोमबार ट्रम्पले इरानसँगको युद्ध छिट्टै अन्त्य हुन सक्ने बताएपछि विश्व बजारमा सकारात्मक प्रभाव देखिएको छ।
मंगलबार एशियाली बजार खुल्नेबित्तिकै कच्चा तेलको मूल्य घट्न थालेको छ। अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य करिब ८.५% घटेर ९२.५० डलर प्रति ब्यारेल पुगेको छ। अमेरिकामा कारोबार हुने तेलको मूल्य पनि झन्डै ९% घटेर ८८.६० डलर प्रति ब्यारेल मा झरेको छ। यद्यपि यो गिरावटपछि पनि तेलको मूल्य युद्ध सुरु हुनुअघिको भन्दा झन्डै ३०% बढी नै रहेको छ।
तेल सस्तो हुँदा एशियाली सेयर बजारलाई पनि केही राहत पुगेको छ। एशियाका धेरै देशले खाडी राष्ट्रहरूबाट ठूलो परिमाणमा तेल किन्ने गर्छन्। तेल महँगो हुँदा ती देशहरूको अर्थतन्त्र र सेयर बजारमा दबाब बढिरहेको छ। अहिले मूल्य घटेपछि बजारले केही राहत महसुस गरेको छ।



