मध्यपूर्वमा जारी युद्धका कारण इन्धन आपूर्तिमा अवरोध आएपछि भारत सरकारले प्राकृतिक ग्यास र खाना पकाउने ग्यासको वितरणमा कडाइ गरेको छ ।
सरकारी आदेशपछि देशभरका रेस्टुरेन्ट तथा होटलहरूले ग्यास आपूर्ति रोकिएपछि यसको प्रक्ष्यक्ष असर व्यवसायमा पर्ने भएको छ । भारत विश्वकै सबैभन्दा धेरै जनसंख्या भएको देश हो र तरलीकृत प्राकृतिक ग्यास (एलएनजी) को चौथो ठूलो क्रेता पनि हो । त्यस्तै खाना पकाउन प्रयोग हुने तरलीकृत पेट्रोलियम ग्यास (एलपीजी) को दोस्रो ठूलो आयातकर्ता पनि भारत नै हो ।
जसको ठूलो हिस्सा मध्यपूर्वबाट नै आउँछ । पेट्रोलियम मन्त्रालयले मंगलबार जारी गरेको आदेशमा मध्यपूर्वमा जारी द्वन्द्वका कारण होर्मुज जलडमरूमध्य हुँदै हुने एलएनजी ढुवानीमा अवरोध आएको उल्लेख गरेको छ । मन्त्रालयका अनुसार नयाँ व्यवस्था लागू गरेर प्राथमिकता क्षेत्रहरूमा ग्यासको समान वितरण र निरन्तर उपलब्धता सुनिश्चित गर्ने उद्देश्य राखिएको छ ।
सरकारले घरपरिवार, यातायात क्षेत्र र एलपीजी उत्पादनलाई ग्यास आपूर्तिमा पहिलो प्राथमिकता दिन आदेश दिएको छ । यसबाहेक मल कारखाना र चिया उद्योगजस्ता अन्य क्षेत्रले उपलब्धताका आधारमा आफ्नो आवश्यकताको करिब ८० प्रतिशतसम्म मात्रै ग्यास पाउनेछन् । भारत हुँदै नेपालमा पनि खाना पकाउने एलपी ग्यास आपूर्ति हुँदै आएको छ । खाना पकाउने एलपी ग्यासको अभाव नेपालमा पनि सृजना भएको छ ।
जनकपुरधामसहित देशभरी नै एलपी ग्यासको हाहाकार भएको कृत्रिम अभाव सृजना गरी केही ग्यास व्यवसायीलाई कालोबजारी थालेका छन् । उपभोक्ता र व्यवसायीले निर्धारण गरिएको मूल्यको दोब्बरभन्दा बढी रकम तिर्नुपर्ने बाध्यता रहेको पीडितले बताएका छन् । सिरहास्थित महराजा रेस्टुरेन्ट एण्ड होटेलका सञ्चालक पिन्टु राउतले ग्यास अभावको मौका छोपेर पसलेहरूले अत्यधिक मूल्य असुल्न थालेका छन् ।
सञ्चालक राउतले भने, ‘दुई थान ग्यास लिन जाँदा प्रतिसिलिन्डर चार हजार ५०० रुपैयाँ मागियो”, उनले भने, “निर्धारित मूल्यमा दुई सिलिन्डरको तीन हजार ८२० रुपैयाँ पर्नुपर्ने हो । नौ हजार रुपैयाँ भनेपछि कसरी तिर्नु ? त्यसपछि रित्तै हात फर्किनुप¥यो ।’ त्यस्तै जनकपुरधामस्थित चियानास्ता पसल सञ्चालन गर्दै आएका जगदिश साहले पनि निर्धारण गरिएको मूल्यमा ग्यास नपाउँदा व्यवसाय चलाउन कठिन भएको बताए ।
उनले भने, ‘सिलिण्डर किन्दा चार हजार ५०० रुपैयाँ तिर्नुपर्छ”, उनले भने, “त्यति महँगोमा किनेर कसरी खर्च धान्ने, अब खाना पनि खान नसकिने अवस्था आउला कि भन्ने चिन्ता बढेको छ ।’ खाना पकाउने ग्यासको खुद्रा मूल्य प्रतिसिलिण्डर एक हजार ९१० रुपैयाँ रहेको छ । तर बजारमा भने त्यसको दोब्बरभन्दा बढी मूल्यमा बिक्री भइरहेको उपभोक्ताको गुनासो छ ।
उपभोक्ता अधिकारकर्मीले ग्यासको कृत्रिम अभाव सिर्जना गरेर कालोबजारी भइरहेको हुनसक्ने भन्दै सम्बन्धित निकायलाई तत्काल अनुगमन गर्न आग्रह गरेका छन् । कालोबजारी कानुन विपरीत काम भएकाले कोही दोषी पाइए कारबाही हुने उनले बताए ।यता ग्यास विक्रेता महासंघ नेपालले संकटका बेला उपभोक्ता ठग्ने विक्रेता र ग्यास उद्योगीहरूलाई पहिचान गरी कडा कानुनी कारबाही गर्न सरकारसंग माग गरेको छ ।
महासंघले मंगलबार विज्ञप्ति जारी गर्दै उपभोक्ता ठग्ने विक्रेता र ग्यास उद्योगीहरूलाई कारबाही गर्न माग गरेको छ । महासंघले बजारमा ग्यास अभाव भएको र केही ठाउँमा विक्रेताहरूले अनुचित मूल्य लिएर उपभोक्तालाई मर्कामा पारेको समाचारप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
मध्यपूर्वमा देखिएको पछिल्लो अशान्तिका कारण भविष्यमा ग्यास नपाइने हो कि भन्ने चिन्ता उपभोक्तामा पर्नु स्वाभाविक भएको महासंघले उल्लेख गरेको छ । तर यस्तो विषम परिस्थितिको फाइदा उठाएर सरकारले तोकेको मूल्यभन्दा बढीमा ग्यास बिक्री वितरण गर्नु गम्भीर अपराध भएको महासंघको ठहर छ । महासंघले देशभरिका आमविक्रेतालाई कुनै पनि गैरकानुनी काम नगर्न र जिम्मेवार भएर सेवा प्रवाह गर्न विज्ञप्ति मार्फत अपिल गरेको छ ।



