प्रतिनिधि सभा सदस्यको निर्वाचनमा अपेक्षित परिणाम ल्याउन नसकेपछि नेपाली कांग्रेसमा १५ औँ महाधिवेशनतर्फ पार्टीलाई लैजान नेताहरूले दबाब दिन थालेका छन् । आफूसहित पार्टीले लज्जास्पद हार व्यहोरेपछि विशेष महाधिवेशनबाट आएका सभापति थापाले राजीनामा दिने मनस्थिति बनाएको विषयबारे बहस चुलिएको छ ।
‘बद्लियो कांग्रेस, बदल्छौँ देश’ भन्ने संकल्पका साथ नयाँ नेतृत्वका साथ आएको कांग्रेसलाई जनताले रुचाएनन् । सोमबार उपसभापति विश्वप्रकाश शर्मासंगको भेटघाटमा सभापति थापाले राजीनामा दिने बताए । तर पार्टी उपसभापति शर्मासहित अधिकांश नेताहरूले अहिले राजीनामा समस्या समाधानको निकास नभएको बताउन थाले ।
उक्त निर्वाचनमा रास्वपा दुई तिहाइ बहुमत ल्याउनेगरी हावी हुँदा कांग्रेस प्रत्यक्षतर्फ १८ सीटमा खुम्चिएको छ। समानुपातिकतर्फ पनि करिब १८ लाख मत पाउने देखिएको छ । पार्टी लज्जास्पद हारपछि तत्कालीन सभापति शेरबहादुर देउवा निकट नेताहरूले विशेष महाधिवेशनको औचित्यमाथि नै प्रश्न उठाउन थालेका छन् ।
देउवा निकट नेता जीतजंग बस्नेतले विशेष महाधिवेशनको औचित्य त समाप्त भए पनि यसले राजनीतिमा नैतिक चरित्रको खडेरी गहिरिएको बताए । देउवा निकट नेताहरूले विशेष महाधिवेशनको औचित्य सकिएको भन्दै घुमाउरो शैलीले राजीनामा माग्दै गर्दा तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्काले भने अब अस्वाभाविक महत्वाकांक्षा र आवेगबाट मुक्त बन्न पार्टी पङ् िक्तलाई आह्वान गरेका छन् ।
यद्यपि पार्टी सभापति थापाले पार्टीभित्र विद्रोह गरेर विशेष महाधिवेशन गर्दा असन्तुष्ट तत्कालीन सभापति शेरबहादुर देउवासहित शीर्ष नेताहरू चुनावको पक्षमै खुलेनन् । देउवा चुनावको पक्षमा नखुल्दा कांग्रेसको नतिजामा फरक परेको विश्लेषण संस्थापन पक्षका एक नेताले गरे । कांग्रेसका पूर्व केन्द्रीय सदस्य किरण गिरीले माघ १ गते निर्वाचित नेतृत्वले पार्टीको नीति, कार्यक्रम र एजेन्डाको खाका स्पष्ट पारेर ५० दिनमा १६५ निर्वाचन क्षेत्रमा आमनिर्वाचनको सामना ग¥यो त्यो आफैँमा अत्यन्तै सफल र सराहनीय कार्य भएको दाबी गरे ।
उनले देउवा समूहले चुनावमा सहयोग नै नगरेको आरोप लगाए । उनले अब तत्काल केन्द्रीय कार्यसमिति बैठक बसेर आमनिर्वाचनमा प्राप्त परिणाम र पुराना नेताहरूले खेलेका भूमिकाको निर्मम समीक्षा र विश्लेषण गर्दै पार्टीको भावी कार्यक्रम र रणनीति बनाएर अगाडि बढ्नुपर्ने बताए । पार्टी अब छिटोभन्दा छिटो १५ औँ महाधिवेशन तयारीमा जुट् नुपर्ने उनको भनाइ छ ।
उनी मात्रै नभइ कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पनि केही दिनअघि अब गम्भीर समीक्षासहित नियमित महाधिवेशनको प्रक्रियामा पार्टी जाने बताएका थिए । उनले भने, ‘अधिवेशनका लागि बनेको कांग्रेसको चुनाव नियमित थिएन । त्यसैले सभापति गगन थापाले नैतिकताको नाममा राजीनामा दिनुभन्दा छिटो अधिवेशनमा जानु नै उपयुक्त, जिम्मेवार र समयसापेक्ष बाटो हो।
अहिलेको अवस्थामा कांग्रेस बचाउनु आफैँमा एक नैतिक दायित्व हो ।’ अर्का नेता अर्जुननरसिंह केसी पनि नेतृत्व पाएको ५० दिनकै अवधिमा वर्षौँदेखि थुप्रिएका विकृति र विसङ्गति र समस्याहरू जादु गरी झैँ चुट्कीको भरमा समाप्त पार्ने काम हुन नसक्नु वा नहुनु स्वाभाविक नै भएको तर्क गर्छन् ।
उनले भने, ‘पार्टीको प्रमुख सारथि, कांग्रेस सभापतिलाई थाक्ने, निराश हुने वा अलमलिने छुट छैन। परिस्थिति तथा विरासतको रूपमा आइलागेका खराबीको उपजलाई आधारमा राजीनामा गर्नु गम्भीर राजनीतिक भुल हुनसक्छ ।’ हतारमा कुनै निर्णय नगरी विगतबाट थुप्रिँदै आएका विकृति र वर्तमान परिस्थितिको निर्मम विश्लेषण, समीक्षा र मूल्यांकन गरी भावी रणनीति तयार गर्न पार्टी नेतृत्व युद्ध स्तरमा केन्द्रित हुनुपर्ने उनले बताए ।
पार्टी सभापति थापानिकट नेता शंकर तिवारीले पनि विशेष महाधिवेशनपछिको नेतृत्वकै कारणले नै कांग्रेस संसद्को वैधानिक प्रतिपक्ष हुन सफल भएको दाबी गरे । उनले एक भिडियो सन्देश जारी गर्दै भनेका छन्, ‘कांग्रेस १५–१६ प्रतिशत भोट ल्याउन सफल भएको छ। विशेष महाधिवेशन भएको भए कांग्रेसको अहिले भन्दा अझ बिजोग अवस्था हुन्थ्यो भन्ने कुरामा कार्यकर्ताहरूको एकमत देखिन्छ ।’
सभापति थापा नियमित अधिवेशनबाट आएको नभएकाले अर्कोलाई कार्यवाहक दिएर जान नमिल्ने उनको कथन छ । उनले भने, ‘उहाँको विशेष अधिवेशनको सभापतिको काम नियमित अधिवेशनमा लगेर नयाँ नेतृत्वलाई सुम्पने दायित्व हो । गगन थापाले हतारमा राजीनामा गर्नुहुँदैन। उहाँले राजीनामा गरे पनि केन्द्रीय कार्यसमितिले, सदस्यहरूले अस्वीकार गर्ने सम्भावना छँदै छ ।’
देउवाको परम्परागत गुटसंग जोडिएका नेताहरूले निर्वाचनमा सहयोग नगरेको हुन सक्ने भन्दै उनीहरुले बताउँदै आएका छन् ।



