२०८२ फाल्गुन २७, बुधबार ०८:१६

वीरगञ्जस्थित भारतीय महावाणिज्य दूतावास परिसरमा अन्तर्राष्ट्रिय महिला दिवस २०२६ कार्यक्रम मनाइएको छ ।

“गिव टू गेन” भन्ने मूल नाराका साथ आयोजित कार्यक्रममा महिला सशक्तीकरण, सामाजिक योगदान तथा समानताका विषयमा व्यापक छलफल र विभिन्न सांस्कृतिक प्रस्तुति गरिएको थियो । कार्यक्रममा नेपाल र भारतका विभिन्न क्षेत्रका प्रतिष्ठित महिलाहरू, सामाजिक अभियन्ता, शिक्षाविद्, विद्यार्थी तथा समुदायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

सहभागीहरूले महिलाले समाजमा खेलेको महत्वपूर्ण भूमिका, उनीहरूले भोगिरहेका चुनौती तथा त्यसको समाधानका उपायबारे आफ्ना अनुभव र विचार साझा गरेका थिए । वक्ताहरूले महिलाको सक्रिय सहभागिता बिना समाजको समग्र विकास सम्भव नहुने उल्लेख गर्दै महिला अधिकार, शिक्षा र आर्थिक सशक्तीकरणमा अझ बढी ध्यान दिनुपर्नेमा जोड दिएका थिए ।

सो अवसरमा वीरगञ्ज र आसपासका शैक्षिक संस्थाका विद्यार्थीहरूले आकर्षक सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए । वीरगञ्ज र शारदा कला केन्द्र रक्सौलका विद्यार्थीहरूले नेपाल– भारतको साझा सांस्कृतिक परम्परा झल्किने नृत्य तथा संगीत प्रस्तुति दिएका थिए, जसले कार्यक्रममा विशेष आकर्षण थपेको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै भारतका महावाणिज्यदूत श्रीदेव सहाय मीनाले अन्तर्राष्ट्रिय महिला दिवसको महत्वबारे प्रकाश पार्दै महिलाहरूले समाज, राष्ट्र निर्माण तथा आर्थिक विकासमा पु¥याइरहेको योगदानको प्रशंसा गरे। उनले महिला सशक्तीकरणलाई अझ सुदृढ बनाउन समाजका सबै पक्षको सक्रिय सहभागिता आवश्यक रहेको बताए ।

साथै महिलालाई सशक्त बनाउने अभियानलाई अझ व्यापक बनाउन दूतावास निरन्तर सहयोगी रहने प्रतिबद्धता पनि व्यक्त गरेका थिए । कार्यक्रमको मुख्य उद्देश्य लैङ्गिक समानताको प्रवद्र्धन गर्नु, महिलाहरूको उपलब्धि र योगदानलाई सम्मान गर्नु तथा समावेशी र समानतामूलक समाज निर्माणका लागि सामूहिक पहललाई प्रोत्साहन गर्नु रहेको आयोजकले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News