रौतहटको फतुवा विजयपुर नगरपालिका–५ सन्तपुरस्थित दलित ९चमार० टोलमा दुई महिला सहित ६ जनामाथि सामूहिक आक्रमण गरेको आरोपमा ८ जनाविरुद्ध ज्यान मार्ने उद्योग मुद्दा दर्ता गरिएको छ।
पीडित बिर्जा राम चमारको उजुरीका आधारमा रौतहटका प्रहरी प्रमुख एसपी सिताराम रिजालको निर्देशनपछि इलाका प्रहरी कार्यालय विजयपुर लक्ष्मिनियामा बुधबार उक्त मुद्दा दर्ता भएको प्रहरीले जनाएको छ।
घटनामा संलग्न भनिएका पसिन्द्र यादवलाई प्रहरीले पक्राउ गरेको छ भने अन्य आरोपीहरू भुनेश्वर यादव, नितेश यादव, जगु यादव ९नगेन्द्र यादव०, सुखारी यादव, गिरधारी यादव, नबिन कुमार यादव र जयप्रकाश यादव फरार रहेका छन्। फरार आरोपीहरूको खोजी कार्य जारी रहेको प्रहरीको भनाइ छ। पक्राउ परेका पसिन्द्र यादव हाल इलाका प्रहरी कार्यालय विजयपुरको हिरासतमा छन्।
यसअघि घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्नुको सट्टा प्रहरीले पीडित पक्षलाई नै दुःख दिएको आरोप लागेको थियो। विशेषगरी इलाका प्रहरी कार्यालय विजयपुर लक्ष्मिनियाका प्रमुख इन्स्पेक्टर सुरेन्द्र यादवको भूमिकामाथि स्थानीयले प्रश्न उठाएका छन्। उनीमाथि जातीय प्रभावमा परेर प्रहरी आचारसंहिता विपरीत काम गरेको आरोपसमेत लगाइएको छ।
घटना फागुन १९ गते होली पर्वको पूर्वसन्ध्या तथा प्रतिनिधिसभा निर्वाचन हुनुभन्दा दुई दिनअघि भएको बताइएको छ। घटनाको एक सातासम्म पनि कारबाही नभएपछि पीडित पक्षले मंगलबार पत्रकार सम्मेलन गर्दै घटना सार्वजनिक गरेका थिए।
पत्रकार सम्मेलनमा पीडित बिर्जा राम चमारले सामान्य विवादपछि स्थानीय भुनेश्वर यादवसहितको समूहले लाठी–भाटा लिएर साँझ करिब ६ बजे घरमै पसेर आफूहरूमाथि आक्रमण गरेको बताए। उनका अनुसार सो समूहले श्रीमती, छोरीसहित ६ जनालाई मरणासन्न हुने गरी कुटपिट गर्नुका साथै घरभित्र तोडफोडसमेत गरेको थियो। घरमा रहेका दुईवटा मोबाइलसमेत फोडिएको उनले बताए।
कुटपिटबाट बिर्जा राम चमारको ढाड र घाँटीमा चोट लागेको छ भने उनकी श्रीमती गायत्री देवी रामको शरीरभरि निलडाम परेको देखिएको छ। त्यस्तै उनका छोरा राजकुमार रामको टाउकोमा तीन टाँका लागेको छ भने सुब्बा रामकी १६ वर्षीया छोरीको टाउको फुटेर सात टाँका लागेको छ। ललन राम चमारको अनुहार र शरीरभरि निलडाम देखिएको छ भने नरेश राम चमारको टाउको र आँखामा चोट लागेको पीडित पक्षले जनाएको छ।
पीडितका अनुसार घटनाभन्दा करिब एक घण्टा अघि दुई पक्षबीच सामान्य भनाभन भएको थियो। त्यस क्रममा विपक्षी समूहले राजकुमार रामलाई घरभन्दा केही टाढा कुटपिट गरेको र प्रतिवादका क्रममा विपक्षी पक्षका एकजनाको टाउको सामान्य रूपमा फुटेको बताइएको छ।
त्यसको केहीबेरपछि भने विपक्षीहरू लाठी–भाटा लिएर घरमै प्रवेश गरी सामूहिक आक्रमण गरेको बिर्जा राम चमारले बताए।
उनका अनुसार घटनापछि घटनास्थल पुगेको प्रहरी टोलीले आक्रमणकारीलाई पक्राउ गर्नुको सट्टा आफू र आफ्नै छोरालाई पक्राउ गरी हथकडी लगाएर लगेको थियो। उनीहरूलाई थुनामा राखेर कुटपिटसमेत गर्दै इलाका प्रहरी कार्यालय विजयपुर पठाइएको आरोप उनले लगाए।
स्थानीय समाजसेवी तथा फतुवा विजयपुरका मेयर प्रत्याशी विजय यादवका अनुसार पीडितलाई पक्राउ गरिएको खबर पाएपछि उनले इन्स्पेक्टर सुरेन्द्र यादवलाई फोन गरी छोड्न आग्रह गरेका थिए।
“तर उहाँले कुरा नसुनेपछि मैले रौतहटका एसपीलाई फोन गरेँ, त्यसपछि मात्रै बिर्जा राम र उनका छोरालाई थुनामुक्त गरिएको हो,” उनले बताए।
पीडितका अनुसार घटनाको एक सातासम्म पनि जाहेरी दर्ता गरिएको थिएन। आइतबार र सोमबार इलाका प्रहरी कार्यालय विजयपुरमा पुगेर उजुरी दर्ता गर्न आग्रह गर्दा पनि इन्स्पेक्टर यादवले वास्ता नगरेको र उल्टै धम्क्याएको आरोप लगाइएको छ।
पत्रकार सम्मेलनमा बिर्जा राम चमारले आँसु झार्दै आफूलाई न्याय दिलाइदिन आग्रह गरेका थिए।
यता इन्स्पेक्टर सुरेन्द्र यादवले भने विपक्षी पक्षका एकजनाको टाउको फुटेको र निर्वाचनको संवेदनशील अवस्थाका कारण उनीहरूलाई पक्राउ गरिएको बताएका छन्। पछि बिर्जा रामको परिवारका सदस्यहरू पनि घाइते भएको थाहा पाएपछि सोही रात जिम्मा–जमानिमा बाबु–छोरालाई छाडिएको उनले बताए।
स्थानीयवासीका अनुसार इन्स्पेक्टर सुरेन्द्र यादव इलाका प्रहरी कार्यालय विजयपुरको प्रमुखका रूपमा आएदेखि क्षेत्रमा अराजक गतिविधि बढेको छ। केही समयअघि पनि उनको मिलेमतोमा विजयपुर थानाक्षेत्रमा लाखौँ रुपैयाँको कौडा जुवा खेलाइएको आरोप लागेको थियो। स्थानीयको विरोधपछि उक्त गतिविधि रोकिएको बताइन्छ।
उनको कार्यकालमा साना घटनालाई ठूलो बनाउँदै आर्थिक चलखेल हुने गरेको र विभिन्न राजनीतिक प्रभावका कारण दलित परिवारसहित धेरैलाई न्यायबाट वञ्चित गरिएको स्थानीयको गुनासो छ।



