२०८२ फाल्गुन २८, बिहीबार ०६:१३

नेपाल–भारत सीमा क्षेत्रमा भारतले केन्द्रीय शासित छुट्टै राज्य बनाउने आन्तरिक गृहकार्य थालेको छ । भारतको बिहार राज्यको अररिया, पूर्णिया, किसनगञ्ज र कटिहार जिल्ला तथा पश्चिम बंगालका केही भाग मालदा र उत्तर दिनाजपुरलाई मिलाएर केन्द्रीय शासित राज्यको रुपमा स्थापना गर्ने गृहकार्य थालेको स्रोतले जनाएको छ ।

केन्द्रीय शासित राज्य बनाउने काम सन् २०२६ को बंगाल विधानसभा चुनावअघि नै सम्पन्न हुने स्रोतको दाबी छ । उक्त क्षेत्रलाई समेटेर केन्द्र शासित राज्य बनाएपछि नेपाल– बंगलादेशबाट हुनसक्ने घुसपैठ र आपराधिक गतिविधि रोक्न सकिने भारत सरकारको जिकिर छ । देशको सुरक्षाको दृष्टिकोणले सीमाञ्चल रणनीतिक रूपमा धेरै महत्वपूर्ण रहेको भारतीय गृहमन्त्री अमित शाहले बताएका थिए ।

नजिकैको ‘चिकेन नेक’ क्षेत्रका कारण भारत सुरक्षाको विषयमा अधिक गम्भीर रहेको बताइन्छ । भारतीय गृहमन्त्री शाहले नेपाल–भारत सीमा क्षेत्रको सुरक्षा र व्यवस्थापनको समीक्षा समेत गरेका छन् । गृहमन्त्री शाहले भारतीय भूमि बन्दरगाह प्राधिकरणको बैठकमा पनि सहभागी भएका थिए ।

नेपाल–भारत सीमामा रहेको रक्सौल देशका १५ वटा भूमि बन्दरगाहमध्ये एक पर्छ । यसैबीच नेपालको पर्सा र बारा क्षेत्रमा नयाँ बस्ती र धार्मिक स्थलहरू तीव्र रूपमा बढिरहेको रिपोर्ट भारत सरकारसमक्ष पुगेको बताइन्छ । सुरक्षाकर्मीहरूसंग छलफलमा भारतको सीतामढीसंग जोडिएको नेपालको रौतहटमा चिनियाँ गतिविधि बढेको दाबी गर्दै चिन्ता व्यक्त गरिएको थियो ।

भारतको सुरक्षाबारे अध्ययन अनुसन्धान गर्दै आएका एक अनुसन्धानकर्ताले भने, ‘नेपालमा भइरहेको गतिविधिलाई लिएर भारत निकै चिन्तित छ, त्यही भएर सीमाञ्चलमा आफ्नो सुरक्षा निगरानी बढाउन केन्द्र शासित राज्य बनाउने पहल भइरहेको छ ।’ यस विषयमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी ‘कन्भिन्स’ रहेको बताइन्छ ।

फागुनको दोस्रो साता भारतीय गृहमन्त्री शाह बिहार आएर यसबारे छलफल गरेका थिए । एक कार्यक्रममा बोल्दै प्रधानमन्त्री मोदीले ‘घुसपैठियाहरू’ पहिचान गर्न ‘उच्चस्तरीय जनसांख्यिकी मिसन’ सञ्चालन गर्ने घोषणा पनि गरेका थिए । भारतको बिहार, पश्चिम बंगाल र असमका मुस्लिम बाहुल्य क्षेत्रमा घुसपैठ व्यापक रुपमा भइरहेको रिपोर्ट भारत सरकारसंग छ ।

काउन्टरकरेन्टस् डट ओरजी अनलाइनमा पत्रकार अरुण श्रीवास्तवले लेखेका छन्, ‘ यो प्रस्तावित केन्द्र शासित प्रदेश मुख्यतया एक राजनीतिक परियोजना हो । यदि प्रशासनिक दक्षता लक्ष्य हुन्थ्यो भने यस्तो प्रस्ताव ल्याउनुअघि विस्तृत सर्वेक्षण गर्नुका साथै विकास निर्माणको परियोजनाको बारेमा पनि चर्चा हुन्थ्यो तर हालसम्म त्यस्तो देखिएको छैन ।’

Comment


Related News

Latest News

Trending News