२०८२ फाल्गुन २८, बिहीबार ०६:२८

जनकपुरधामको ट्राफिक व्यवस्थापनलाई व्यवस्थित र प्रभावकारी बनाउन जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाले विभिन्न सुधारका पहलहरू अघि बढाएका छन् । प्रविधिमैत्री तथा योजनाबद्ध ट्राफिक व्यवस्थापनमा ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक सुर्यबहादुर शाहीको नेतृत्वमा जोड दिँदै जनकपुरधाममा नयाँ अभ्यासहरू लागू गर्न थालिएको हो ।

ट्राफिक प्रहरीको पहलमा जिल्ला ट्राफिक प्रहरी कार्यालयको प्रवेशद्वारमा डिजिटल डिस्प्ले बोर्ड जडान गरिएको छ । साथै, जनकपुरधामका विभिन्न चोक तथा सडक क्षेत्रमा हालसम्म ४३ वटा सीसीटीभी क्यामेरा जडान गरिसकिएको छ । यी क्यामेराले सवारी आवागमनको निगरानी र ट्राफिक व्यवस्थापनलाई थप प्रभावकारी बनाउन सहयोग पुगेको ट्राफिक प्रहरीले जनाएको छ ।

यसैबीच, रामानन्द चोकदेखि जनक चोकसम्मको सडकलाई ‘ वन वे’ प्रणालीमा सञ्चालन गर्ने निर्णय सर्वपक्षीय सहमतिका आधारमा कार्यान्वयनमा ल्याइएको छ । सो निर्णयपछि विशेषगरी अस्पताल रोड क्षेत्रमा लामो समयदेखि देखिँदै आएको सवारी जामको समस्या कम हुँदै गएको स्थानीयवासीले बताएका छन् ।

त्यस्तै, बाबा पेट्रोल पम्प पुल नजिक बारम्बार सवारी दुर्घटना हुने स्थानलाई ‘ब्ल्याक स्पट’का रूपमा पहिचान गरी दुर्घटना न्यूनीकरणका उपायहरू अपनाइएको छ । सडक विभागसँगको समन्वयमा सो क्षेत्रमा रम्बल स्ट्रिप, जेब्रा क्रसिङ र वाल ब्यारियर निर्माण गरिएको छ । साथै, नेपाल विद्युत प्राधिकरणसँग समन्वय गरेर दुर्घटनाको कारण बनेको बिजुलीको पोल हटाइएको ट्राफिक प्रहरीले जनाएको छ ।

यी सुधारपछि उक्त स्थानमा दुर्घटनाको संख्या शून्यमा झरेको दाबी गरिएको छ । प्रहरी निरीक्षक शाहीको योजनाअनुसार रामानन्द चोकलाई नमुना चोकका रूपमा विकास गर्ने प्रक्रिया पनि सुरु गरिएको छ । सडक विभागसँगको सहकार्यमा चोक क्षेत्रमा ‘फ्लेक्सिबल स्प्रिङ पोस्ट’ जडान गरी ट्राफिक व्यवस्थापनलाई थप व्यवस्थित बनाउने काम अघि बढाइएको हो ।

सो योजनाको कार्यान्वयनअघि रामानन्द चोकमै सर्वपक्षीय बैठक आयोजना गरी स्थानीय, सरोकारवाला निकाय तथा सम्बन्धित पक्षसँग छलफल गरिएको थियो । ट्राफिक प्रहरीका अनुसार प्राप्त सुझाव र समर्थनलाई आधार बनाएर योजनालाई कार्यान्वयनमा ल्याइएको हो ।

प्रहरी निरीक्षक शाहीले जनकपुरधामका अन्य व्यस्त स्थानहरूमा पनि चरणबद्ध रूपमा ट्राफिक व्यवस्थापन सुधारका कार्यक्रम लागू गरिने बताउंदै सवारी दुर्घटना न्यूनीकरण, ट्राफिक अनुशासन कायम र सडकलाई व्यवस्थित तथा सुरक्षित बनाउने लक्ष्यसहित काम अघि बढाइने जनाएको छ ।

Comment


Related News

Latest News

Trending News