२०८२ फाल्गुन २८, बिहीबार १४:१३

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हालै सम्पन्न निर्वाचनको परिणाम आफूले अपेक्षा गरेअनुसार नआएको बताएका छन्।

सामाजिक सञ्जाल फेसबुकमार्फत उनले लोकतन्त्रमा अन्तिम फैसला जनताकै हुने भन्दै त्यसलाई सम्मानपूर्वक स्वीकार गर्नु आफ्नो र आफ्नो पार्टीको कर्तव्य भएको उल्लेख गरेका छन्। ‘यस पटकको निर्वाचनमा मैले अपेक्षा गरेजस्तो परिणाम प्राप्त गर्न सकिनँ। हाम्रो पार्टीले पनि अपेक्षित परिणाम ल्याउन सकेन। लोकतन्त्रमा अन्तिम फैसला जनताकै हुन्छ, र त्यो फैसला शिरोधार्य गर्नु म र मेरो पार्टीको कर्तव्य हो। जनताको मतलाई म पूर्ण सम्मानका साथ स्वीकार गर्दछु,’ ओलीले भने।

ओलीले कठिन परिस्थितिमा पनि सूर्य चिन्हमा मतदान गरी आफ्नो पक्षमा उभिएका मतदाता, नेता, कार्यकर्ता, स्वयंसेवक, शुभेच्छुक तथा समर्थकप्रति धन्यवाद व्यक्त गरेका छन्। ‘तपाईंहरूको विश्वास नै हाम्रो शक्ति हो, तपाईंहरूको साथ नै हाम्रो ताकत हो,’ उनले सन्देशमा उल्लेख गरेका छन्।

निर्वाचनको परिणाम आफ्नो पक्षमा नआए पनि जनताप्रतिको प्रतिबद्धता र सेवाभाव कमजोर नभएको ओलीको भनाइ छ। उनले आफ्नो पार्टी जनताकै बीचमा रहेर जनताकै लागि काम गरिरहने र विश्वासको सम्बन्धलाई अझ बलियो बनाउँदै अघि बढ्ने बताएका छन्। ‘निर्वाचनको परिणाम हाम्रो पक्षमा आएन। तर जनताप्रतिको हाम्रो प्रतिबद्धता र सेवाभाव कत्ति पनि कमजोर भएको छैन। हामी जनताकै बीचमा रहनेछौँ, जनताकै लागि काम गरिरहनेछौँ र विश्वासको यो सम्बन्धलाई अझ बलियो बनाउँदै अघि बढ्नेछौँ,’ उनले भने।

झापा- ५ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले काठमाडौँ महानगरपालिकाका पूर्वमेयर एवम् रास्वपाका वरिष्ठ नेता बालेन साहसँग फराकिलो मतले पराजित भएका हुन्। रास्वपाले भावी प्रधानमन्त्रीका रुपमा अघि सारेका बालेनले ओलीभन्दा झण्डै ५० हजार बढी मत लिएर विजयी भएका हुन्।

Comment


Related News

Latest News

Trending News