रौतहटको वन क्षेत्रमा अवैध रूपमा निर्माण गरिएका ६ वटा घरटहरा भत्काइएका छन्। चन्द्रपुर नगरपालिका–६ बेल्डीस्थित वन क्षेत्र अतिक्रमण गरेर बनाइएका घर तथा छाप्रा हटाइएको हो।
इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुर, सशस्त्र प्रहरी बल बेस क्याम्प सन्तपुर, चन्द्रपुर सब–डिभिजन वन कार्यालय र रंगपुर साझेदारी वन उपभोक्ता समूहको संयुक्त टोलीले बिहीबार अपराह्न ती अवैध संरचना भत्काएर वन क्षेत्र खाली गराएको डिभिजन वन कार्यालय रौतहटका प्रमुख हेमन्त प्रसाद साहले जानकारी दिएका छन ।
उनका अनुसार गत २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका क्रममा वन कर्मचारीहरू निर्वाचन कार्यमा खटिएका बेला केही स्थानीयले रातारात वन क्षेत्रमा घर तथा छाप्रा निर्माण गरी अतिक्रमण गरेका थिए। सोही अतिक्रमण हटाउन संयुक्त टोली परिचालन गरिएको हो।
डिभिजन प्रमुख साहले जिल्लाका अन्य स्थानमा रहेका अतिक्रमित वन क्षेत्रहरू पनि क्रमशः खाली गराइने बताए। वन संरक्षणमा कार्यालय निरन्तर सक्रिय रहेको उल्लेख गर्दै उनले कुनै पनि बहानामा वन अतिक्रमण स्वीकार्य नहुने स्पष्ट पारेका छन ।
वन क्षेत्रको संरक्षणका लागि अवैध रूपमा घर निर्माण नगर्न र वन अतिक्रमण नगर्न सर्वसाधारणलाई आग्रह गर्दै उनले नियम–कानुनको पालना गर्न सबै नागरिक सचेत हुनुपर्ने बताएका छन ।



