निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीमा ३ प्रतिशतभन्दा कम मत प्राप्त गर्ने राजनीतिक दलहरूको विवरण सार्वजनिक गरेको छ।
आयोगका अनुसार समानुपातिकतर्फ ३ प्रतिशतभन्दा कम मत प्राप्त गर्ने राजनीतिक दलको संख्या ५१ रहेको छ।
फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक प्रणालीतर्फ १ करोड १२ लाख ८० हजार ६१७ मत खसेको थियो। तीमध्ये १ करोड ८ लाख ३५ हजार २५ मत सदर भएको निर्वाचन आयोगले जनाएको छ।
समानुपातिक निर्वाचन प्रणालीतर्फ ५७ निर्वाचन चिन्हमा बन्दसूची पेश गरिएको थियो। तर तीमध्ये ५१ वटा राजनीतिक दलले कुल सदर मतको ३ प्रतिशतभन्दा कम मत प्राप्त गरेका छन्।
प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६० को उपदफा (१२) अनुसार ३ प्रतिशतभन्दा कम मत प्राप्त गर्ने दलले पाएको मत समानुपातिक सिट बाँडफाँटमा गणना नहुने आयोगले स्पष्ट पारेको छ।
जसपा नेपालले १ लाख८२ हजार २८५ मत प्राप्त गर्याे । त्यस्तै जेनजी आन्दाेलनमा घाइतेले दर्ता गराएकाे राष्ट्रिय परिवर्तन पार्टीले १ लाख७२ हजार ४८९ मत पाएकाे थियाे ।
जनमत पार्टी लगायत ५१ वटा दलले समानुपातिकतर्फ थ्रेसहोल्ड कटाउन सकेनन्। त्यसमध्ये ४ वटा दलले हजार मत पनि प्राप्त गर्न नसकेकाे आयाेगले जनाएकाे छ ।


