नेपाल आयल निगमले नेपालमा भारतबाट एलपी ग्यास आपूर्तिमा कुनै समस्या नरहेको जनाएको छ ।
शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै निगमका प्रवक्ता मनोजकुमार ठाकुरले अहिलेसम्म माग अनुसार नै भारतबाट ग्यास आपूर्ति भइरहेकाले आपूर्तिमा कुनै समस्या नरहेको जानकारी दिनुभयो । अभाव हुने हल्लाका कारण अनावश्यक रुपमा ग्यासको सञ्चिति बढाएका कारण अहिले बजारमा ग्यास अभावजस्तो देखिएको उहाले बताउनुभयो ।
उहाले अहिले बजारमा देखिएको कृत्रिम अभावलाई समाधान गर्दै ग्यासको आपूर्ति तथा वितरण प्रणालीलाई व्यवस्थित बनाउन आधा ग्यास सिलिन्डर बिक्रिबितरण गर्न सुरु गरिएको बताउनुभयो । नेपालमा प्रयाप्त रुपमा ग्यास आपूर्ति भइरहेकाले अनावश्यक भण्डारण नगर्न उहाले आम उपभोक्तालाई आग्रह समेत गर्नुभयो । प्रवक्ता ठाकुरले आजको दिनसम्म मागको शतप्रतिशत ग्यास आपूर्ति भएपनि भोलीको दिनमा के हुन्छ भन्ने स्पष्ट हुन नसकेको बताउनुभयो ।
उहाले डिजेल र पेट्रोलको हकमा १५–१५ दिनमा नयाँ मूल्यसूची आउने भएपनि हवाई इन्धन र एलपि ग्यासको हकमा एक महिनामा नयाँ मूल्यसूची आउने भएकाले नयाँ सूची प्राप्त भएपनि ग्यासमा बृद्धि भएको मूल्य यकिन हुने उल्लेख गर्नुभयो । त्यसपछि मात्रै ग्यासको मूल्य समायोजन हुने वा नहुने भन्ने आवश्यक निर्णय हुने उहाको भनाइ छ ।



