२०८२ फाल्गुन ३०, शनिबार ०७:०९

आ–आफ्नै तरिकाले प्रतिनिधिसभा सदस्य निर्वाचनमा लडेको मधेश केन्द्रित दलले ‘बिना रुखान, बैसलाके गाम कमाइ छी’ मैथिलीको उखानलाई शून्य सांसद रहेको संघीय लोकतान्त्रिक मोर्चाले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र साहलाई समर्थन गरेको कुरा बाहिरिए पछि यो भनाइ चरितार्थ भएको छ ।

देशव्यापी रुपमा पराजित भएपछि पहिलो पटक बसेको संघीय लोकतान्त्रिक मोर्चाको बैठकबाट भावी प्रधानमन्त्री बालेन्द्र साह उर्फ बालेनलाई अग्रीम शुभकामना दिएको छ । यस निर्वाचनमा एउटै पनि सिट जित्न नसकेको मोर्चा आवद्ध दलले बालेनलाई बधाई तथा शुभकामना दिएका छन् ।

निर्वाचन अघिसम्म पटकपटक एउटै मोर्चा बनाएर निर्वाचनमा सहभागी हुने सहमति गरे पनि अन्तिममा आ–आफ्नै ढंगले निर्वाचनमा होमिएका थिए । निर्वाचनभन्दा अघि नै गठन गरिएको संघीय लोकतान्त्रिक मोर्चामा जनता समाजवादी पार्टी(जसपा) नेपाल, जनमत पार्टी, राष्ट्रिय मुक्ति पार्टी नेपाल, तत्कालीन लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, तराई मधेश लोकतान्त्रिक पार्टीलगायतका दलहरु रहेका थिए ।

निर्वाचन नजिकिँदै जाँदा उनीहरुबीच निर्वाचन अवधिभर एक ढिक्का भएर निर्वाचनमा होमिने भनिए पनि उनीहरु अन्तिम समयमा अलग अलग भएर आ–आफ्नो निर्वाचन क्षेत्र सुरक्षित खोजे । त्यसक्रममा कुनै पनि किसिमको तालमेल एकअर्कासंग गर्न कुनै पनि शीर्षनेताहरुले पहलकदमी नलिएको भन्दै मोर्चा आवद्ध दलका नेताले आलोचनासमेत गरे ।

जनमत पार्टीका अध्यक्ष सीके राउतले निर्वाचनमा मिलेर सहभागी हुँदा आफ्नै पार्टीलाई बढी सिट दिनुपर्ने अडान लिएपछि मोर्चा आवद्ध दलहरु विस्तारै विस्तारै अलग हुन पुगेका थिए । मधेश केन्द्रित दलहरु एकले अर्काको अस्तित्वलाई नै स्वीकार गर्न नसकेको र मोर्चाका शीर्ष नेताहरु आ–आफ्नै नातागोता, आफन्तजनमा नै पार्टीलाई समर्पित गरेपछि अहिलेको निर्वाचनको परिणाम आएको राजनीतिक विश्लेषक विजय मिश्र बताउँछन् ।

निर्वाचनको क्रममा पनि जसपा नेपालका संरक्षक महन्थ ठाकुर राष्ट्रिय सभा सदस्यमा निर्वाचित भए । तर उनले आफ्नो छोरीलाई प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवार बनाएपछि उनको पार्टी भित्रै पनि कडा आलोचना भयो । पार्टीकै नेता हरिनारायण यादवलगायतका नेता बागी बनेका थिए । यसले पार्टी संरक्षक ठाकुरको राजनीतिक छविलाई धूमिल पु¥याएको स्थानीय नेताहरु बताउँछन् ।

मधेशका मुद्दाहरू सम्बोधन हुने ध्येय

संघीय लोकतान्त्रिक मोर्चाको बैठकबाट प्रतिनिधिसभा निर्वाचनमा बालेन साहले प्राप्त गरेको व्यापक जनसमर्थनलाई स्वागत गर्दै उनलाई प्रधानमन्त्रीका रूपमा देख्न पाउनु उत्पीडित समुदायका लागि हर्षको विषय भएको जनाएको छ ।

जसपा नेपालका संरक्षक महन्थ ठाकुरको अध्यक्षतामा बसेको मोर्चाको बैठकले बालेनको जितलाई मधेशी, थारु लगायत उत्पीडित जनताले देशको कार्यकारी प्रमुख बन्न देखेको सपना, संघर्ष र बलिदानको परिणामका रूपमा चित्रिणसमेत गरिएको छ ।

जसपा नेपालका संरक्षक महन्थ ठाकुरद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘मधेशी सपूत माननीय बालेन्द्र साह (बालेन) को नेतृत्वलाई आम जनताले व्यापक जनसमर्थन प्रदान गरेकोले निजलाई प्रधानमन्त्रीको रूपमा हेर्न पाउनु हामी लामो समयदेखि संघर्षरत मधेशी, थारु, आदिवासी जनजाति लगायत उत्पीडित समुदायको निम्ति हर्षको विषय हो ।’ उक्त बैठकले बालेनलाई भावी प्रधानमन्त्रीको रूपमा अग्रीम शुभकामना तथा बधाई ज्ञापन समेत गरेको छ ।

मोर्चाले बधाई ज्ञापनसंगै बालेनको नेतृत्वबाट मधेशका पुराना र थाती रहेका मुद्दाहरू सम्बोधन हुने ठूलो अपेक्षा राखेको छ । नेपाली जनताले विगतमा गरेका संघर्ष र बलिदानबाट स्थापित गणतन्त्र, संघीयता, लोकतन्त्र र समावेशीता लगायतका उपलब्धिहरूलाई नयाँ सरकारले संस्थागत गर्ने मोर्चाले जारी गरिएको विज्ञप्तिमा जनाइएको छ ।

यसका साथै, संविधान संशोधन, प्रदेशको सीमांकन हेरफेर, जनसंख्याको आधारमा प्रतिनिधित्व सुनिश्चित गर्ने, लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्ने र संघीयतालाई अझ बलियो बनाउने जस्ता महत्वपूर्ण मुद्दाहरू बालेनको नेतृत्वमा सम्बोधन हुनेमा विश्वास रहेको जसपा नेपालका संरक्षक ठाकुरले हस्ताक्षर गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ । उक्त बैठकबाट संघीय लोकतान्त्रिक मोर्चाका नेता ठाकुर हालै राष्ट्रिय सभाको सदस्यमा निर्वाचित भएकोमा उनलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिएको छ ।

Comment


Related News

Latest News

Trending News