२०८२ फाल्गुन ३०, शनिबार ०७:०७

मधेश प्रदेश सभा सदस्य कञ्चन विच्छाको पद गुमेको छ ।

सर्वोच्च अदालतको आदेशले उनको पद गुमेको छ । यसअघि सर्वोच्चको अन्तरिम आदेशले पद कायम भएकी विच्छाको पद पुनः सर्वोच्चबाटै खारेजी भएपछि गुमेको छ । सर्वोच्च अदालतमा शुक्रबार न्यायाधीश कुमार रेग्मी र अव्दुल अजीज मुसलमानको संयुक्त इजलासले यसअघि दिइएको अन्तरिम आदेश खारेजपछि उनी पदमुक्त भएकी छन् ।

नेकपा एमालेका संसदीय दलका नेता सरोजकुमार यादव नेतृत्वको मधेश प्रदेश सरकारमा मन्त्री बनेपछि पार्टीले तत्काल राजीनामा दिइ प्रदेश सरकारबाट बाहिरिन निर्देशन दिएको थियो । तर सो निर्देशनको पनि अवज्ञा गर्दै सरकारमा बसेपछि पार्टीले साधारण सदस्य नरहने गरी कारबाही गरेको थियो । पार्टीले कारबाही गर्दै प्रदेशसभा सचिवालयमा पत्र पठाएपछि उनलाई पदमुक्त गरिएको थियो ।

त्यस विरुद्धमा विच्छाले सर्वोच्चमा रिट दिएपछि अन्तरिम आदेश दिँदै पदलाई कायम गरेको थियो । विच्छाले राप्रपा केन्द्रीय कार्यालयसमेत चारजनालाई विपक्षी बनाएर दिएको उत्प्रेषण मुद्दामा फैसला सुनाउँदै उक्त रिट खारेज गरेको छ । उनले पार्टीलाई कुनै जानकारी नदिइ एमालेका सरोजकुमार यादवको सरकारमा कार्तिक २४ गते वन तथा वातावरणमन्त्री बनेकी थिइन् ।

बिहान ४ बजे होटलमा शपथ लिएका कारण यादवको नियुक्ति विवादमा परेको थियो । समानुपातिकतर्फबाट सांसद बिच्छाले आफ्नो पद बहालीको माग राख्दै रिट दायर गरेकी थिइन् ।

यससंगै मधेश प्रदेशसभामा प्रतिनिधिसभा सदस्यको निर्वाचन लड्नका लागि निवर्तमान मुख्यमन्त्री सतीशकुमार सिंह, नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता भरतप्रसाद साह, प्रदेशसभा सदस्य रहबर अन्सारी, निवर्तमान सभामुख रामचन्द्र मण्डलले प्रदेशसभा सदस्यबाट राजीनामा दिएका थिए । जसमध्ये अन्सारी मात्रै निर्वाचित भए भने उनीबाहेक सबै पराजित भएका छन् ।

Comment


Related News

Latest News

Trending News