नेपालबाट भारततर्फ लैजाँदै गरेको करिब २ किलो लागुऔषध अफिमसहित एक युवक भारतको सीमावर्ती क्षेत्रमा पक्राउ परेका छन्।
भारतीय सीमाक्षेत्र महुवामा भारतीय सीमा सुरक्षा बल ९एसएसबी० र स्थानीय प्रहरीको संयुक्त टोलीले शुक्रबार राति सञ्चालन गरेको विशेष अपरेसनका क्रममा उनलाई नियन्त्रणमा लिएको हो।
भारतको बिहार राज्य अन्तर्गत पूर्वी चम्पारण जिल्लाको अदापुर ब्लक, पचपुखरिया गाउँका ३१ वर्षीय बिरगु यादव पक्राउ परेको एसएसबी पिपराकोठीका सहायक कमाण्डेन्ट विश्वजित तिवारीले जानकारी दिएका छन ।
सूचनाका आधारमा एसएसबीको बी कम्पनी महुवा, ७१ बटालियन मोतिहारी र महुवा प्रहरीको संयुक्त टोलीले राति करिब ९ः३० बजे चन्द्रमन गाउँ नजिक उनलाई पक्राउ गरेको हो। पक्राउका क्रममा उनको साथबाट १ किलो ९४५ ग्राम अफिम बरामद गरिएको सुरक्षा स्रोतले जनाएको छ।
बरामद गरिएको अफिम भारत–नेपाल सीमा स्तम्भ नम्बर ३७७ बाट करिब १।२ किलोमिटर दूरीमा फेला परेको र अदापुरका सर्कल अफिसरको उपस्थितिमा घटनास्थलमै तौल गरिएको बताइएको छ।
प्रारम्भिक अनुसन्धानका आधारमा उक्त अफिम नेपालबाट भारततर्फ तस्करी गरेर लैजाँदै गरेको आशंका गरिएको छ। पक्राउ परेका यादव र बरामद गरिएको अफिमलाई थप अनुसन्धानका लागि महुवा प्रहरी थानामा बुझाइएको भारतीय सुरक्षा स्रोतले जनाएको छ।



