२०८२ चैत्र १, आईतवार ०७:२५

बालेनको कथनले सार्थकता पाउनेमा आशावादी देखिएका मुख्यमन्त्री कृष्ण प्रसाद यादवले संविधानले दिएको अधिकार अनुसार प्रदेश सरकारले आफ्नो प्रहरी र कर्मचारी पाउनेमा विश्वास व्यक्त गरेका छन् ।

जनकपुरधाममा शनिबार आयोजित एक कार्यक्रममा मुख्यमन्त्री यादवले विश्वमै कतै नभएको बिना प्रहरीको प्रदेश सरकार चलाउनु परेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । उनले मधेश प्रदेश सरकार बिना प्रहरी प्रशासन चलिरहेको भन्दै असन्तुष्टि व्यक्त गर्दै विश्वमा कतै पनि बिना प्रहरी प्रशासनको सरकार नहुने बताए । उनले नेपालमा मात्रै प्रदेश सरकारहरूले विना प्रहरी प्रशासनले राज्य संचालन गर्नुपर्ने नियति भोगिरहेको बताए ।

उनले प्रधानमन्त्री बन्न लागेका राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र साहले जनकपुरधाममा घोषणा गर्नु भएबमोजिम संविधानले प्रदान गरेको संवैधानिक अधिकारहरू प्रदेश सरकारलाई पूर्ण रुपमा हस्तान्तरण हुने आशा व्यक्त गरे । प्रतिनिधिसभा सदस्य निर्वाचन अघि जनकपुरधामस्थित तिरहुतिया गाछीमा आयोजित एक कार्यक्रममा रास्वपाका वरिष्ठ नेता बालेन्द्र साह बालेनले ‘अब अधिकारका लागि नभइ पशुपति दर्शन गर्न मात्र आउनु’ भनी दिएको अभिव्यक्तिको मुख्यमन्त्री यादवले स्मरण गराउँदै प्रदेशले नमागेर अधिकार दिन खोजेकोमा साहलाई धन्यवादसमेत दिएका छन् ।

तिरहुतिया गाछीमा आयोजित सभामा पार्टीका वरिष्ठ नेता साहले प्रदेश सरकार र पालिका सरकारलाई कर्मचारी फेर्नका लागि पनि काठमाण्डु आउनुपर्ने दुःखेसोको अन्त्य गरी जो कोही पनि काठमाण्डु आउँदा पशुपति दर्शन गर्न आउनका लागि अभिव्यक्ति दिएका थिए । बालेनले भनेका थिए, ‘दिनहुँ माइतीघरमा आन्दोलन हुन्छ । तर, मेयर भएर केही गर्न सकिनँ । अब गर्न चाहन्छु ।’ अधिकार माग्नका लागि कोही पनि काठमाण्डु जानु नपरोस् भन्ने आफूले चाहेको मुख्यमन्त्री यादवले स्मरण गरे ।

मुख्यमन्त्री यादवले संविधानले परिकल्पना गरेको अधिकार आठ वर्षभन्दा बढी समय बितिसक्दा पनि प्रदेश सरकारले नपाएको गुनासो गरे । मधेश प्रदेशमा प्रहरीको भौतिक संरचना अत्यन्तै दयनीय रहेको उनको भनाइ छ । माओवादी द्वन्द्वकालमा क्षति भएका भग्नावशेष भवनहरूमा समेत प्रहरीहरू अहिले बस्न बाध्य रहेको बताउँदै मुख्यमन्त्री यादवले ती भग्नावशेष भवनहरुको मर्मत तथा सम्भार गरी सुधार गर्नुपर्ने आवश्यकता बताए ।

जेन– जी आन्दोलनका क्रममा अधिकांश ठाउँमा प्रहरीको सवारी साधनहरू जलाइएको र नष्ट गरिएको भन्दै मुख्यमन्त्री यादवले यसको पूर्ति गर्नुपर्ने दायित्व पनि थपिएको बताए । प्रदेश प्रहरीलाई सुसम्पन्न बनाउन प्रदेश सरकारको मात्र नभइ संघीय सरकारको पनि उत्तिकै जिम्मेवारी रहेको मुख्यमन्त्री यादवले बताए । सीमित साधनस्रोतका बाबजुद प्रदेश सरकारले प्रत्येक वर्ष प्रहरीलाई सहयोग गरिरहेको उनले बताए । उनले मधेश प्रदेश प्रहरीलाई सुविधा सम्पन्न प्रहरी संगठन बनाउनका लागि प्रदेश सरकारले सबै प्रकारको सहयोग गर्नका लागि प्रतिबद्ध रहेको बताउँदै प्रहरीका लागि विनियोजन भएको रकमको काम समयमा नै सम्पन्न गर्नका लागि आग्रह गरे ।

त्यस्तै गृह, सञ्चार तथा कानूनमन्त्री फकिरा महतोले मन्त्रालयमा रहेको बजेट मध्ये ८० देखि ९० प्रतिशत बजेट सुरक्षा निकायमा नै लगानी गर्ने गरि मन्त्रालयले बजेट विनियोजन गरेको बताए । उनले मन्त्रालयमा चालु आर्थिक वर्षका लागि ७२ करोड बजेट रहेको बताउँदै प्रहरीलाई आधुनिक तथा सुविधा सम्पन्न बनाउनका लागि धेरै बजेटहरू विनियोजन गर्ने काम भएको बताए । मधेश प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक गोविन्द थपलियाले प्रहरी लागि बन्ने नयाँ सुविधा सम्पन्न ब्यारेक सहितको संरचनाले प्रहरीको मनोबल बढाउने विश्वास व्यक्त गरे ।

Comment


Related News

Latest News

Trending News