२०८२ चैत्र १, आईतवार ०७:३२

प्रतिनिधि सभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष र पारदर्शी बनाउन आचारसंहिता कडाइका साथ पालना गर्न निर्वाचन आयोगले आग्रह गरेको छ ।

आयोगका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराईले एक विज्ञप्ति जारी गर्दै शैक्षिक संस्थासंग सम्बद्ध प्राध्यापक, शिक्षक तथा कर्मचारीलाई कुनै पनि राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा चुनावी प्रचारप्रसारमा संलग्न नहुन निर्देशन दिएको छ ।

आचारसंहिताको पूर्ण पालना गर्नु सरोकारवाला पक्षहरूको दायित्व रहेको र सबै राजनीतिक दल, उम्मेदवार तथा सम्बन्धित पक्षहरूले निर्वाचन आचारसंहिताको पूर्ण पालना भए नभएको विषयमा आयोगले अनुगमन गरिरहेको भन्दै केही प्राध्यापक, शिक्षक तथा कर्मचारी राजनीतिक दल तथा उम्मेदवारको पक्षमा प्रचारप्रसारमा संलग्न भएको भनी आयोगमा उजुरी तथा गुनासो समेत प्राप्त भएको उल्लेख गरिएको छ ।

जारी गरिएको उक्त विज्ञप्ति भनिएको छ, ‘शिक्षा ऐन, २०२८ को दफा १६७. को उपदफा (५) को खण्ड (छ) मा शिक्षक वा कर्मचारी राजनीतिक दलको कार्यकारिणी समितिको सदस्य रहेको पाइएमा शिक्षक वा कर्मचारीलाई पदबाट हटाइने व्यवस्था रहेको छ।

निर्वाचन आचारसंहिता, २०८२ को दफा १० को खण्ड (क) मा विद्यालय, महाविद्यालय वा विश्वविद्यालय तथा सोमा सम्बद्ध कर्मचारी, प्राध्यापक तथा शिक्षकले कुनै राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा प्रचारप्रसारमा संलग्न हुन वा प्रचारप्रसार गर्न नहुने र ऐ. दफाको खण्ड (ग) बमोजिम कुनै राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा सवारीसाधन, भवन वा अन्य सामग्री प्रयोग गर्न दिन, कार्यक्रम वा सभा वा सम्मेलन गर्न वा प्रचारप्रसार गर्न नहुने स्पष्ट व्यवस्था रहेको छ ।’

आचारसंहिताको व्यवस्था प्रतिकूल हुने गरी निर्वाचन प्रचारप्रसार गतिविधिमा सामेल भएको पाइएमा आचारसंहिताको दफा ४८ बमोजिम कारबाही गर्ने चेतावनी आयोगले दिएको छ ।

Comment


Related News

Latest News

Trending News