२०८२ चैत्र १, आईतवार ०७:५२

मधेश प्रदेशका विभिन्न जिल्लामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई जनाको ज्यान गएको छ भने १६ जना घाइते भएका छन् ।

प्रदेश प्रहरीका अनुसार धनुषा, सर्लाही र पर्सामा शुक्रबार भएका दुर्घटनामा मानवीय क्षति भएको हो । धनुषाको जनकपुरधाम उपमहानगरपालिका–७ मा दुईवटा मोटरसाइकल एकआपसमा ठोक्किँदा एक महिलाको मृत्यु भएको छ।

भारतीय नम्बर प्लेटको मोटरसाइकल र बागमती प्रदेश नम्बरको मोटरसाइकल ठोक्किँदा महोत्तरीको एकडारा गाउँपालिका–३ की ५५ वर्षीया पवन देवी गम्भीर घाइते भएकी थिइन् । उनलाई उपचारका लागि अस्पताल लगिए पनि शनिबार उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा संलग्न भारतीय मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान गरिरहेको छ । यसैगरी सर्लाहीको बरहथवा नगरपालिका–१० स्थित सितापुरमा स्कारपियो गाडीले विवाहमा सहभागी जन्तीको समूहमा ठक्कर दिँदा एक जनाको ज्यान गएको छ ।

बरहथवाबाट सितापुरतर्फ जाँदै गरेको स्कारपियोले भीडमा रहेका जन्तीलाई ठक्कर दिँदा बरहथवा–१० का ५० वर्षीय नारायण जर्गा मगरको मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा ११ जना घाइते भएका छन् । गम्भीर घाइतेमध्ये रौतहटको दोस्तिया पिपरिया बस्ने ७० वर्षीय कमल पटेल र गढीमाई नगरपालिका–११ की ४५ वर्षीया बन्धना पटेल रहेका छन्।

अन्य घाइतेहरू रुपेश मण्डल, प्रतिमा कुमारी पटेल, दिलिप राय, चन्दन पासवान, दीपिका जैसवाल, रामजी राय, मुकेश राउत, रामनारायण ठाकुर र गुलाब कुमारी मण्डलको उपचार भइरहेको छ । उता पर्साको वीरगञ्ज महानगरपालिका–३२ टेढानजीमा दुई मोटरसाइकल ठोक्किँदा पाँच जना घाइते भएका छन्।

पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको बागमती प्रदेश नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको मधेश प्रदेश नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किँदा दुर्घटना भएको हो। दुर्घटनामा शिवजी चौधरी, उनकी पत्नी ऐश्वर्या चौधरी र चार वर्षीय छोरा हर्ष चौधरी घाइते भएका छन् ।

दम्पतीको टाउको, हात र नाकमा चोट लागेको छ भने बालक हर्षको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । अर्का मोटरसाइकल चालक राजवीर चौधरी र सञ्जय यादव पनि घाइते भएका छन् ।

प्रहरीका अनुसार दुबै मोटरसाइकल चालकले मादक पदार्थ सेवन गरी सवारी चलाएका कारण दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । घाइते पाँचै जनाको वीरगञ्जस्थित अस्पतालमा उपचार भइरहेको छ ।

मधेस प्रदेशको मोटरसाइकल चलाइरहेका राजवीर चौधरी र सञ्जय यादव पनि घाइते भएका छन् । प्रहरीले उनीहरू दुवैले मादक पदार्थ सेवन (मापसे) गरेर मोटरसाइकल चलाइरहेको कारण दुर्घटना भएको हो । घाइते पाँचै जनालाई उपचारका लागि वीरगञ्जस्थित वीरगञ्ज हेल्थ केयर अस्पतालमा भइरहेको छ ।

Comment


Related News

Latest News

Trending News