२०८२ चैत्र २, सोमबार ०७:१२

गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा तीन प्रतिशत ‘थ्रेसहोल्ड’ कटाएका ६ वटा राजनीतिक दलले समानुपातिक निर्वाचन प्रणालीतर्फ पेश गरेका ११० निर्वाचित उम्मेदवारको नाममा निर्वाचन आयोगले ‘क्लस्टर’ अनुसार रुजु प्रक्रिया अघि बढाइएको छ ।

निर्वाचनमा समानुपातिकतर्फ एक करोड १२ लाख ८० हजार ६१७ मत खसेको थियो । जसमा एक करोड आठ लाख ३५ हजार २५ मत सदर भएको थियो ।

सदर मतमध्ये सबैभन्दा धेरै मत प्राप्त गर्ने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले क्लस्टर अनुसार ५७ सांसदको सूची पेश गरेको छ । नेपाली कांग्रेसले २०, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत माक्र्सवादी लेनिवादी) ले १६, नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले ९, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले ४/४ उम्मेदवारको सूची क्लस्टर मिलाएर आइतबार पेश गरेको छ ।

क्लस्टर अनुसार सूची मिले वा नमिलेको रुजु प्रक्रिया अघि बढाइएको आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीले जानकारी दिए । दलहरूले क्लस्टर अनुसार बुझाएको निर्वाचित हुने उम्मेदवारको सूचीमा त्रुटि नभए सोमबार नै निर्वाचितको सूची सार्वजनिक गरिने प्रवक्ता जिसीले बताए ।

दलहरूले क्लस्टर अनुसार बुझाएको सूचीमा केही त्रुटि भएमा सच्याउनका लागि तीन दिनसम्मको समय रहने छ । रास्वपा, कांग्रेस, एमाले, नेकपा, श्रम संस्कृति पार्टी र राप्रपाले आयोगमा समानुपातिक सांसदको नामावलीसहितको सूची सिफारिस गरी बुझाएको छ । क्लस्टर अनुसार मधेशी कोटामा १७ जनाको नाम सिफारिस गरेको छ ।

तर रास्वपाले भने समानुपातिक कोटा अनुसार नाम सिफारिस गरिए पनि नामावली भने गोप्य राखिएको छ । रास्वपाका नेता जितेन्द्र महासेठका अनुसार समानुपातिक सांसदको नामावली आयोगमा पशे गरिएको बताउँदै उक्त नामावली आयोगमार्फत नै सार्वजनिक हुने छ । रास्वपाले मधेशी कोटामा ९ जनाको नाम छनोट गरेको छ ।

त्यस्तै नेपाली कांग्रेसको तर्फबाट समानुपातिक सांसद मध्ये मधेशी कोटाबाट निनुकुमारी कर्ण, रेखाकुमारी यादव र चन्द्रमोहन यादवलाई चयन गरिएको जनाइएको छ । त्यस्तै नेकपा एमालेले पनि समानुपातिक सांसदको टुंग्याएको छ । आइतबार बसेको सचिवालय बैठकबाट समानुपातिक सांसदको नाम टुङ्गो लगाएको उपमहासचिव लेखराज भट्टले जानकारी दिए । क्लस्टर अनुसार समानुपातिक सांसदको चयन गरेको उनको भनाइ छ ।

एमालेले समानुपातिकबाट १६ सीट जितेको छ । जसमध्ये मधेशी कोटाबाट रिङ्ला यादव, यशोधा कुमारी यादव र चन्द्रेश्वर मण्डल रहेका छन् । त्यस्तै नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले ९ जना समानुपातिक सांसद छनोट गरी उनीहरूको नाम निर्वाचन आयोगमा सिफारिस गरेको जनाएको छ । आयोगमा नेकपाले बुझाएको नामहरूमा मधेशी कोटाबाट जोगकुमार बरबरीया यादव ‘श्रवण’ रहेका छन् ।

त्यस्तै श्रम संस्कृति पार्टीले समानुपातिक सांसदको टुंगो लगाएको छ । श्रम संस्कृति पार्टीले निर्वाचन आयोगमा सिफारिस गरिसकेको छ । समानुपातिक प्रणाली अन्तर्गत सिफारिस गरिएका उम्मेदवारहरूको नाम पार्टीको निर्णयअनुसार टुंग्याएको अध्यक्ष हर्क साम्पाङले जनाएका छन् । जस अनुसार मधेशी कोटाबाट रुवीकुमारी ठाकुरको नाम सिफारि गरिएको उनले बताए ।

पार्टीको विधान, योग्यता तथा क्षमताको आधारमा छनोट गरिएका उम्मेदवारहरूको नाम निर्वाचन आयोगमा पठाइसकिएको उनले प्रस्ट्याए । तर राष्ट्रिय प्रजातन्त्र पार्टीले भने मधेशी कोटाबाट कसैको पनि नाम सिफारिस गरेको छैन । प्रस्तावित क्लस्टर अनुसार सिफारिस गरिएको नाम उपर निर्वाचन आयोगले रूजु गरेपछि केही मिलाउनुपर्ने भए फेरबदल हुनसक्ने छ ।

Comment


Related News