भारतीय रकम साट्ने वैधानिक काउन्टर नहुँदा सप्तरीमा रुपैया साटासाटको अवैध कारोबार बढेको छ । भारतीय रकमलाई नेपाली र नेपाली रकमलाई भारतीय रकम (भारु) साट्दा रकमको अवैध कारोबार बढेको हो ।
भारु पाउन सयकडाको तीनदेखि पाँच रुपियाँसम्म अतिरिक्त रकम तिनु पर्ने आम नागरिकको बाध्यता छ । एक दशक यतादेखि राष्ट्रिय बाणिज्य बैंक राजविराजले भारतीय रुपियाँको सटही काउन्टर बन्द गरेदेखि जिल्लामा नेपाली र भारतीय रुपियाँको अवैध कारोबार भइरहेको व्यापारीहरु बताउँछन् ।
एक व्यवासयीले भने “स्थानीय कारोबारीहरुसँग अवैध रुपमा नेपालीबाट भारु रुपियाँ साट्दा सयकडामा अतिरिक्त तीनदेखि पाँच रुपियाँसम्म दिनुपर्छ“, उहाँले भन्नुभयो, “सीमावर्ती भारतीय बजारमा पनि नेपाली रकम चल्छ तर त्यहाँ पनि तीनदेखि पाँच रुपियाँसम्म अतिरिक्त रकम तिर्नुपर्छ ।“ भारतमा पढाइ, लेखाइ, स्वास्थ्य उपचार, तथा साधारण किनमेलका लागि भारु चाहिने भएकोले भारु रकम साट्न आउने जोसुकैसँग तीन–पाँच रुपियाँ बढी कमिशन लिएर व्यापारीहरुले साट्ने गरेको राजविराजका अर्का व्यापारी मो. असिफले जानकारी दिए ।
२०७३ सालताका नै राजविराजस्थित राष्ट्रिय बाणिज्य बैंकले भारु सटही काउन्टर बन्द गरेपछि यहाँ सर्वसाधारण थप आर्थिक मारमा परेको कपडा व्यवसायी संघका अध्यक्ष थानसिंह भन्सालीले बताउनुभयो । त्यतिबेला बैंकले प्रति व्यक्तिलाई नेपाली नागरिकता प्रमाणपत्रको प्रतिलिपिको आधारमा तेरह सय भारु साट्दै आएको थियो ।
विशेष कारण खुलाइएको अवस्थामा पाँच हजारसम्म भारु रकम बैंकले साट्ने गरेको उनले बैंकको सटही काउन्टर बन्द भएयतादेखि नेपाली रुपियाँको अवमुल्यन हुँदै आएको बताए । सीमावर्ती भारतीय बजार विरपुर, कुनौली, लौकही, अन्ध्रामठ लगायतको बजारमा भारुको अबैद्य सटही गर्ने दर्जनौ व्यापारीहरु सक्रिय छन् ।
यस्तै जिल्लाका राजविराज, भारदह, हनुमाननगर, बोदेबसाइन बजारमा पनि अवैध रुपमा भारु साट्ने व्यापारीहरुको संख्या धेरै छन् ।


