निर्वाचन आयोगले दलहरुले पेस गरेको समानुपातिक सांसदको सूचीमा रुजु प्रक्रिया अगाडि बढाएको छ।
हिजो राजनीतिक दलहरुले बुझाएको सुचीमा हिजैबाट क्लष्टर अनुसार सूची मिले–नमिलेको रुजु प्रक्रिया अघि बढाइएको आयोगले जनाएको छ । दलहरुले पेश गरेको क्लष्टरअनुसार निर्वाचित हुने उम्मेदवारको सूचीमा त्रुटि नभएको पाइए आयोगले सम्भवतः आजै सूची सार्वाजनिक गर्ने जनाइएको छ ।
सूचीमा केही त्रुटि भई सच्याउनुपर्ने अवस्थामा भने तीन दिनसम्म समय लाग्न सक्ने छ। गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा तीन प्रतिशत ‘थ्रेसहोल्ड’ कटाएका ६ दलले समानुपातिक निर्वाचन प्रणालीतर्फ हिजो ११० निर्वाचित उम्मेदवारको नाम आयोगमा पेश गरेका थिए।
राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले क्लष्टरअनुसार ५७ सांसदको सूची पेस गरेको छ। कांग्रेसले २०, नेकपा एमालेले १६, नेकपाले नौ, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले चार÷चार उम्मेदवारको सूची क्लष्टर मिलाएर पेश गरेका हुन्।



