२०८२ चैत्र ३, मंगलवार ०६:०१

पछिल्लो एक महिनामा धनुषा जिल्लामा विभिन्न प्रकृतिका अपराधका १०९ वटा घटना दर्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय धनुषाले सार्वजनिक गरेको फागुन महिनाको प्रगति विवरणअनुसार हत्या, चोरी, सामाजिक अपराध, आर्थिक अपराध, सवारी अपराध लगायतका घटनाहरू दर्ता भएका हुन् ।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक गणेश बहादुर बलमे जनाए अनुसार फागुन महिनामा ज्यानसम्बन्धी, चोरी, सामाजिक अपराध, आर्थिक अपराध तथा सवारी अपराधसमेत गरी कुल १०९ वटा मुद्दा दर्ता भएको छ । सो अवधिमा ३ वटा कर्तव्य ज्यान, १५ वटा बैंकिङ कसूर, २ वटा जुवातास तथा २० वटा आर्थिक प्रकृतिका अपराधका घटना दर्ता भएका छन भने विभिन्न मुद्दामा संलग्न व्यक्तिहरूलाई पक्राउ गरी अनुसन्धान अगाडि बढाएको जनाएको छ ।

‘फागुन महिनामा जिल्लाभर भएका अपराध नियन्त्रण तथा अनुसन्धानलाई प्रभावकारी बनाउन प्रहरीले दैनिक गस्ती, चेकजाँच तथा भारततर्फका सुरक्षा निकायसँग समन्वय गर्दै काम गरेको छ,’ प्रवक्ता बमले भने । प्रहरीका अनुसार आत्महत्याका १२ घटना दर्ता भएका छन् । झुण्डिएर तथा विष सेवन गरी आत्महत्या गरेका घटनामा पुरुष र महिलासहित १६ वर्ष मुनिका २, १६ देखि २५ वर्ष समूहका ३, २६ देखि ३५ वर्षका ४, ३६ देखि ४५ वर्षका २ तथा ४६ देखि ६० वर्ष उमेर समूहका १ जना रहेको छ ।

महिला तथा बालबालिकासम्बन्धी घटनामा पनि वृद्धि देखिएको छ । एक महिनाको अवधिमा घरेलु हिंसासम्बन्धी ४१ वटा उजुरी प्रहरीमा दर्ता भएको छ । त्यसमध्ये १९ वटा मुद्दा मिलापत्र गराइएको छ भने १ वटा मुद्दा अदालत पठाइएको प्रहरीले जनाएको छ । प्रहरी तथ्यांक अनुसार विभिन्न उमेर समूहका ४५ जना हराएका छन् । तीमध्ये ८ जनालाई प्रहरीले फेला पारिसकेको जनाएको छ । फागुन महिनामा लागूऔषधसम्बन्धी ४ वटा मुद्दा दर्ता भएको छ भने ५ जना पक्राउ परेका छन् ।

प्रहरीले ३४५ किलो ५२.९७ ग्राम गाँजा, ब्राउन सुगर, चरेस, अफिम, हेरोइनसहित विभिन्न औषधिजन्य लागूऔषध बरामद गरेको जनाएको छ । फागुन महिनामा धनुषामा १०५ वटा सवारी दुर्घटना भएको प्रहरीले जनाएको छ । ती दुर्घटनामा ५ जनाको मृत्यु भएको छ भने १७९ जना घाइते भएका छन् । ट्राफिक नियम उल्लंघन गर्ने ७१२ वटा सवारीसाधनमाथि कारवाही गरी ६ लाख ४६ हजार रुपैयाँ जरिवाना संकलन गरिएको छ । सो अवधिमा आगलागीका १६ वटा घटना भएको प्रहरीले जनाएको छ ।

आगलागीमा ३ जना घाइते भएका छन् भने उद्धारका लागि १६३ जना प्रहरी परिचालन गरिएको थियो । जिल्ला प्रहरी कार्यालय धनुषाले अपराध नियन्त्रणका लागि नियमित मोबाइल गस्ती, पैदल गस्ती, ग्रामीण गस्ती तथा चेकिङ अभियान सञ्चालन गरेको जनाएको छ । लागूऔषध, आत्महत्या रोकथाम, महिला हिंसा तथा ट्राफिक सचेतनासम्बन्धी कार्यक्रम सञ्चालन गरिंदै आएको उनले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News