२०८२ चैत्र ३, मंगलवार १०:०३

गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२औँ विश्व सम्मेलन तथा बृहत् अन्तर्राष्ट्रिय महाधिवेशन सोमबार काठमाडौंमा सम्पन्न भएको छ।

“हाम्रो एकता, समृद्धिको आधार” भन्ने मूल नारासहित फागुन ३० देखि चैत २ गतेसम्म आयोजित सम्मेलनले नेपालको समृद्धि, विकास र विश्वभर रहेका नेपाली समुदायको हितका लागि विभिन्न प्रतिबद्धता सार्वजनिक गरेको छ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) सम्मेलनले अध्यक्षमा बेलायतस्थित लिभरपुल विश्वविद्यालयमा कार्यरत डा. हेमराज शर्मालाई सर्वसम्मत चयन गरेको छ।

अध्यक्षका उमेदवारहरू रोविन शेरचन र रविन बज्राचार्यले अन्तिम समयमा आफ्नो उमेदवारी फिर्ता लिएपछि शर्मा निर्विरोध अध्यक्ष चयन भएका हुन्।

सम्मेलनले गैरआवासीय नेपालीको लगानी नेपालमा भित्रयाउन सरल र अनुकूल वातावरण बनाउन सरकारसँग आग्रह गरेको छ। रोजगारी सिर्जना, उद्यमशीलता प्रवद्र्धन, भौतिक पूर्वाधार विकास र जीवनस्तर सुधारका लागि गैरआवासीय नेपालीको लगानी प्रोत्साहित गर्ने प्रतिबद्धता सम्मेलनले व्यक्त गरेको छ।

त्यस्तै, गैरआवासीय नेपालीलाई नेपालमा लगानी र सम्पत्ति कारोबार सहज बनाउन नागरिकता ऐन, आयकर ऐन, विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन लगायतका कानुनी व्यवस्थामा संशोधन गर्न पनि सरकारसँग माग गरिएको छ।

साथै नेपाल सरकार र गैरआवासीय नेपालीको संयुक्त लगानीमा स्थापना भएको एनआरएन नेपाल डेभलपमेन्ट फण्डबाट जारी हुने धितोपत्रको सीमा ८५ प्रतिशत कायम गर्नुपर्ने माग पनि गरिएको छ।

सम्मेलनले मध्यपूर्व क्षेत्रमा देखिएको पछिल्लो अवस्थाप्रति चिन्ता व्यक्त गर्दै त्यहाँ रहेका नेपालीको राहत, उद्धार र पुनस्र्थापनामा सहयोगका लागि नेपाल सरकार तथा अन्तर्राष्ट्रिय निकायसँग सहकार्य गर्ने प्रतिबद्धता जनाएको छ।

त्यसैगरी प्रवासमा रहेका नेपाली श्रमिकको सुरक्षा र सम्मानजनक रोजगारी सुनिश्चित गर्न नीतिगत सुधारका लागि पहल गर्ने, दोस्रो पुस्ताका युवालाई नेपाली भाषा, संस्कृति र पहिचानसँग जोड्ने, तथा जलविद्युत, कृषि, पर्यटन र सूचना प्रविधि क्षेत्रको विकासमा गैरआवासीय नेपालीको लगानी प्रोत्साहन गर्ने निर्णय पनि सम्मेलनले गरेको छ ।

सम्मेलनले विश्वभर रहेका नेपालीको ज्ञान, अनुभव र पुँजीलाई नेपालसँग जोड्दै समृद्ध, समावेशी र आत्मनिर्भर नेपाल निर्माणमा योगदान गर्ने सामूहिक संकल्प व्यक्त गरेको छ । साथै नव निर्वाचित नेतृत्वले आगामी सरकारसँग सहकार्य गर्दै एनआरएनएलाई विश्वभरका नेपालीको साझा र समावेशी संस्थाका रूपमा सुदृढ बनाउने प्रतिबद्धता जनाएको छ।

सम्मेलनमा ४ हजार २ सय ८६ प्रतिनिधि सहभागी भएको संघको दाबी छ । तीमध्ये ४०० बढी प्रतिनिधि काठमाडौंमा प्रत्यक्ष उपस्थित भएका थिए भने बाँकी प्रतिनिधिहरू अनलाइन माध्यमबाट सहभागी भएको संघले जनाएको छ।

 

Comment


Related News

Latest News

Trending News