यूनेस्कोको सहकार्यमा जनकपुरधामस्थित राम मन्दिर र जानकी मन्दिरको व्यवस्थापन रूपरेखा शुरुवात विषयक दुईदिने कार्यशाला सम्पन्न भएको छ ।
कार्यशालाले जनकपुरधामका प्रमुख धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षणका लागि प्रारम्भिक सहमति र प्रतिबद्धता जुटाएको छ ।
कार्यशालामा सहभागी जनकपुरधाम उपमहानगरपालिकाका कर्मचारीहरूबीच पालिकाभित्र सम्पदा संरक्षण शाखा स्थापना गर्ने विषयमा अनौपचारिक सहमति भएको बुझिएको छ । यसलाई जनकपुरधामका ऐतिहासिक तथा धार्मिक सम्पदाको दीर्घकालीन संरक्षणतर्फ सकारात्मक कदमका रूपमा हेरिएको छ ।
कार्यक्रममा गुठी संस्थानका प्रमुख किशोर कुमार झाको मात्र उपस्थिति रहे पनि जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख, बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का अध्यक्ष तथा प्रदेश सरकारको शिक्षा तथा संस्कृति मन्त्रालयका प्रतिनिधिको सहभागिता नदेखिएकोप्रति सहभागीहरूले असन्तुष्टि जनाएका थिए ।
यद्यपि, पुरातत्व विभागका विज्ञहरूले दिएको सुझावका आधारमा सरोकारवाला निकायहरूबीच समन्वय गरी अगाडि बढ्ने समझदारी बनेको छ । सहमति अनुसार जनकपुरधाम उपमहानगरपालिका, गुठी संस्थान, बृहत्तर जनकपुर क्षेत्र विकास परिषद् तथा प्रदेशको शिक्षा तथा संस्कृति मन्त्रालयबीच समन्वय गरी विस्तृत प्रतिवेदन तयार पारिनेछ ।
उक्त प्रतिवेदन सन् २०२७ फेब्रुअरी १ अगावै पुरातत्व विभागमा पेश गर्ने लक्ष्य लिइएको सहभागीहरूले बताए । जनकपुरधामलाई मिथिलाको सांस्कृतिक केन्द्रका रूपमा चिनिने भएकाले यहाँका धार्मिक सम्पदाको संरक्षण र व्यवस्थापनका लागि दीर्घकालीन योजना आवश्यक रहेकोमा जोड दिइएको बताइएको छ ।



