२०८२ चैत्र ५, बिहीबार ०७:१७

राष्ट्रिय स्वतन्त्र पार्टीले नवनिर्वाचित सांसदहरुको लागि आयोजना गरेको दुई दिने अभिमुखीकरण कार्यक्रममा नेपालको भावी प्रधानमन्त्री बालेन्द्र साह सहभागी नभएपछि विभिन्न खाले टिकाटिप्पणी भइरहेको छ । यससंगै सर्लाही– ४ मा नेपाली कांग्रेसका सभापति गगनकुमार थापालाई पराजित गर्दै निर्वाचित भएका डा. अमरेशकुमार सिंहसमेत सो कार्यक्रममा सहभागी नहुँदा गुटगत राजनीतिको आशंका समेत उत्पन्न भएको छ ।

साह र सिंह सो अभिमुखीकरण कार्यक्रमको पहिलो दिन र दोस्रो दिनको कार्यक्रममा अनुपस्थितले आशंकालाई बल पु¥याएको छ । पार्टीले निर्वाचनपछि संसद छिर्न लागेका सांसदहरुलाई लक्षित गरी काठमाण्डुस्थित एक होटेलमा आयोजना गरेको कार्यक्रममा दुबै दिन अनुपस्थित भएपछि विभिन्न खाले आशंका उत्पन्न भएको छ ।

सभापति रवि लामिछानेले बुधबार आयोजित समापान समारोहमा बोल्दै गुटबन्दीको कुरा उठाउनु अर्को अनौठो पक्ष रहेको टिप्पणी गरे । विना सन्दर्भ उनले सांसदहरूलाई अनावश्यक गुटबन्दी नगर्न निर्देशनसमेत दिए । फागुन २१ गते सम्पन्न भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा झण्डै दुई तिहाइ मत प्राप्त गरेको रास्वपाका लागि यो निकै महत्वपूर्ण कार्यक्रमको रुपमा हेरिएको छ ।

प्रत्यक्ष र समानुपातिकतर्फका १८२ जना सांसदको जमघट, परिचयात्मक र सामूहिक अभ्यासको पहिलो चरणको कार्यक्रम सम्पन्न भयो । तर रास्वपाबाटै भावी प्रधानमन्त्रीका रुपमा अघि सारिएका बालेनले यस कार्यक्रमलाई कुनै महत्व दिएको देखिएन । मंगलबार कार्यक्रममा बोल्दै पार्टीका उपसभापति डोलप्रसाद अर्यालले पार्टी सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र साह अस्वस्थ र व्यस्त भएकाले अभिमुखीकरणको पहिलो दिन उपस्थिति हुन नसकेको जानकारी गराएका थिए ।

उनले बुधबार समापानमा सकेसम्म दुवैजनालाई सहभागी गराउने बचन उनले दिएका थिए । तर बुधबार पार्टी सभापति लामिछाने सहभागी भए पनि पार्टी वरिष्ठ नेता साह भने उपस्थित नभएपछि निकै रहस्यमयको रुपमा सो कार्यक्रममा सहभागी भएका सांसदहरुले अथ्र्याउन थालेका छन् ।

सो कार्यक्रममा सहभागी नभएका बालेन भने नगरकोटमा बसेर आफ्ना सहयोगीसहित आगामी सरकारको रुपरेखा कोरिरहेको उनका निकटस्थ स्रोतले दाबी गरे । पार्टीका प्रवक्ता मनिष झाले पनि वरिष्ठ नेता बालेन आगामी सरकारको गृहकार्यको लागि शारीरिक र मानसिक रूपमा खट्नुपर्ने भएकाले अभिमुखीकरणमा सहभागी हुन नसकेको सांसदहरुलाई जानकारी गराएका थिए । जुन कुरा अघिल्लो दिनमा पार्टीका उपसभापति अर्यालले कार्यक्रममा औपचारिक रूपमै भनेको कुरासंग मेल नखाए पनि ती नेताहरुले अवगत गराउँदा पनि कसैले प्रश्न गर्न आँट गरेनन् ।

यता साह अहिलेसम्म बिमारी भएर कुनै अस्पताल भर्ना भएको कुरा पनि औपचारिक रूपमा बाहिरिएको पनि छैन । साहले आफ्नो इच्छा र चाहना विपरीत सञ्चार सम्पर्क पनि नगर्ने हुँदा उनको वास्तविक अवस्थाबारे जानकारी लिन सोझै भेट्न सकिने अवस्था पनि छैन ।

हुन त काठमाण्डु महानगरपालिकाका मेयर रहँदासमेत बालेन कसैसंग पनि भेटघाट नगर्ने र रहस्यमय ढंगले नै पालिकाको प्रशासन सञ्चालन गर्दा उनीमाथि स्वेच्छाचारी रहेको आरोप लाग्ने गरेको थियो । उनी अब मुलुकको भावी प्रधानमन्त्रीको रुपमा उदाउने करिब करिब निश्चित नै छ ।

यस्तो बेलामा पनि भेटघाटदेखि जनगुनासोलाई बेवास्ता गर्ने त होइन भन्ने प्रश्न रास्वपाका नेता तथा कार्यकर्ताहरुमा चिन्ता देखिन थालिएको छ । लोकतान्त्रिक राजनीतिक नेतृत्व सम्बन्धित पार्टीको संगठनात्मक संरचना र जनताको आधारमा निर्माण भएको हुन्छ । तर निर्वाचनको केही समयअघि मात्रै गत पुस १३ गते सात बुँदे सहमतिमा हस्ताक्षर गरेर प्रधानमन्त्री बन्ने सर्तमा रास्वपा प्रवेश गरेका नेता साहमा प्राविधिक समस्या रहेको भन्दै उनका निकटस्थहरुले बताउने गरेका छन् ।

पार्टीका वरिष्ठ नेतासमेत रहेका साह यस पटक मात्रै नभएर पार्टीका अन्य धेरै महत्वपूर्ण कार्यक्रममा सहभागी भएका छैनन् । रास्वपा सभापति लामिछाने र वरिष्ठ नेता साहले गत पुस १३ गते ७ बुँदे सम्झौता गरेका थिए । उक्त सम्झौताबाट रास्वपा वरिष्ठ नेताको जिम्मेवारी प्राप्त गरेका उनले अहिलेसम्म पार्टी सदस्यले लिनुपर्ने सपथ पनि लिएका छैनन् ।

यता पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले रास्वपाप्रति आशा, ईष्र्या र सतर्कताको दृष्टिले हेरिनु स्वाभाविक भएको टिप्पणी गरे । सामाजिक सञ्जालमार्फत् आफ्नो धारणा सार्वजनिक गर्दै उनले फागुन २१ को आमनिर्वाचनमा रास्वपाले प्राप्त गरेको जनमतले नेपाली राजनीतिको पुनर्संरचना र पुस्तान्तरणको सन्देश दिएको उल्लेख गरे ।

भट्टराईले पार्टी सभापति लामिछानेले नवनिर्वाचित सांसदहरूलाई अभिमुखीकरणका क्रममा व्यक्त गरेका विचार सकारात्मक रहेको बताए ।

Comment


Related News

Latest News

Trending News