रौतहटको सदरमुकाम गौरमा राष्ट्रिय आर्थिक गणना २०८२ सञ्चालनका लागि जिल्ला आर्थिक गणना कार्यालय स्थापना गरिएको छ। बुधबार अपराह्न करदाता सेवा कार्यालय परिसरमा आयोजित कार्यक्रमबीच उक्त कार्यालय औपचारिक रूपमा स्थापना गरिएको हो।
नवस्थापित कार्यालयले जिल्लाभरिका उद्योग, व्यापार, सेवा क्षेत्र तथा रोजगारीसँग सम्बन्धित तथ्यांक संकलन गर्ने लक्ष्य लिएको छ। यसमार्फत जिल्लाको वास्तविक आर्थिक अवस्थाको स्पष्ट तस्वीर बाहिर ल्याउने अपेक्षा गरिएको छ।
कार्यक्रममा प्रमुख अतिथिको रूपमा सहभागी प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले आर्थिक गणनाले समग्र आर्थिक गतिविधिको यथार्थ अवस्था उजागर गर्ने विश्वास व्यक्त गरेका थिए । उनका अनुसार संकलित तथ्यांकले स्थानीय तहदेखि केन्द्रीय तहसम्म नीति निर्माण र दीर्घकालीन विकास योजनामा महत्वपूर्ण आधार प्रदान गर्नेछ।
तथ्यांक अधिकृत सुमन्त यादवले गणनाका लागि आवश्यक जनशक्ति व्यवस्थापन, तालिम तथा घरदैलोमार्फत तथ्यांक संकलन कार्य छिट्टै सुरु गरिने जानकारी दिएका थिए ।
उद्घाटन कार्यक्रममा जिल्ला निर्वाचन कार्यालय रौतहटका प्रमुख छोटेलाल दास, जिल्ला प्रशासन कार्यालयका प्रशासन शाखा प्रमुख रामनरेश साह, लेखापाल ब्रजकिशोर साह, उमेश यादव लगायत विभिन्न सरोकारवालाको उपस्थिति रहेको थियो।
आर्थिक गणनाबाट प्राप्त तथ्यांकले लगानी प्रवर्द्धन, विकास योजना निर्माण तथा समग्र आर्थिक नीति निर्माणमा टेवा पुग्ने विश्वास गरिएको छ।


