२०८२ चैत्र ५, बिहीबार १७:१८

निर्वाचन आयोगले गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ को अन्तिम प्रतिवेदन बिहीबार राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष बुझाएको छ। यो प्रतिवेदन बुझाएसँगै अब नयाँ सरकार गठनका लागि संवैधानिक ढोका औपचारिक रूपमा खुलेको छ।

राष्ट्रपति भवन शितल निवासमा आयोजित विशेष समारोहमा आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले निर्वाचनको समग्र परिणाम र विवरण समेटिएको प्रतिवेदन राष्ट्रपति पौडेललाई हस्तान्तरण गरे।

प्रतिवेदन बुझ्दै राष्ट्रपति पौडेलले कठिन र जटिल राजनीतिक परिस्थितिका बाबजुद निर्वाचन सफलतापूर्वक सम्पन्न भएकोमा खुसी व्यक्त गरे। उनले निर्वाचन आयोग, कर्मचारी र सुरक्षा निकायलाई धन्यवाद दिँदै यो निर्वाचनले लोकतन्त्रलाई थप मजबुत बनाएको दाबी गरे।

राष्ट्रपति पौडेलले भने, ‘फागुन २१ को निर्वाचन स्वतन्त्र र निष्पक्ष रूपमा सम्पन्न गरेर आयोगले ठूलो जिम्मेवारी पूरा गरेको छ। यसले निर्वाचन प्रणालीप्रति नागरिकको विश्वास बढाएको छ र हाम्रो लोकतन्त्र अझ सुदृढ भएको महसुस गरेको छु।’

आयोगले प्रतिवेदन बुझाएसँगै राष्ट्रपतिले अबको केही दिनभित्रै नयाँ सरकार गठनका लागि दलहरूलाई आह्वान गर्नेछन् । निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले करिब दुई तिहाइ बहुमत ल्याएकाले संविधानको धारा ७६ (१) अनुसारकै एकल बहुमतको सरकार बन्ने निश्चित देखिएको छ।

आयोगका अनुसार यो निर्वाचनमा समानुपातिकतर्फ ११० र प्रत्यक्षतर्फ १६५ गरी कुल २७५ सांसदको नामावली समेटिएको प्रतिवेदन आजै राजपत्रमा समेत प्रकाशित गरिनेछ ।

Comment


Related News

Latest News

Trending News