२०८२ चैत्र ७, शनिबार ०६:५०

भावी सरकारको नेतृत्व सन्दर्भमा राष्ट्रिय स्वतन्त्र पार्टी -रास्वपा) ले मन्त्रालयको संख्या घटाउने तयारीमा जुटेको छ । केही दिनदेखि पार्टीका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) लगायतका शीर्ष नेताहरु सरकार गठन तथा मन्त्रालयको संख्या घटाउने बारे छलफल गरिरहेका छन् ।

गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा रास्वपा एक्लैले झन्डै दुईतिहाइ बहुमत प्राप्त गरेको हो । रास्वपा एक्लैले शक्तिशाली सरकार बनाउने तयारीमा रहेको नेताहरुले बताएका छन् । रास्वपाले प्रत्यक्षतर्फ १२५ र समानुपातितर्फ ५७ सहित कूल १८२ सीट पाएको छ । निर्वाचनअघि वरिष्ठ नेता बालेनलाई प्रधानमन्त्रीको उमेदवार घोषणा गरेको थियो ।

‘शक्तिशाली सरकार निर्माणमा रास्वपाका शीर्ष नेताहरु जुटेको छ । मन्त्रालयको संख्या घटाउने विषयमा निरन्तर छलफल भइरहेको छ । प्रधानमन्त्री बालेनको शपथसँगै मन्त्रिपरिषद् पनि गठन गर्ने गरी तयारी पार्टीको रहेको रास्वपाका एक नेताले भने । रास्वपाले चुनावअघि सार्वजनिक गरेको वाचापत्रमै मन्त्रालयको संख्या घटाउने बारे उल्लेख गरिएको छ । ती नेता भन्छन्, ‘जतिसक्दो मन्त्रालय घटाएर सकभर १५ मा झार्ने त्यो पनि भएन भने १८ मा सीमित गर्ने विषयमा निरन्तर छलफल भइरहेको छ । वरिष्ठ नेताले सीमित र स्मार्ट टिम चाहेको छ । त्यस बारे पनि छलफल जारी छ ।’ हाल प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित २२ वटा मन्त्रालयहरु छन् ।

सरकार गठनको सुरुवाती दिनदेखि नै जनतालाई परिवर्तनका आशा जगाउन के कस्ता काम गर्ने, कस्तो मन्त्रिपरिषद् बनाउने भन्ने विषयमा पनि छलफल चलिरहेको ती नेताले बताएका छन् । उनका अनुसार मन्त्रीका लागि केही अनुभवी र क्षमता भएका नेताको नाम छनौट पनि भइसकेको छ । बालेनको क्याबिनेटमा उपसभापति डोलप्रसाद अर्याललाई गृहमन्त्री र अर्का उपसभापति स्वर्णिम वाग्लेलाई अर्थमन्त्री बनाउने विषय करिब पक्कापक्की भइसकेको बुझिएको छ ।

यसअघि गृहमा रास्वपाका महामन्त्री सुनील लम्सालको विषयमा पनि छलफल भएको थियो । विवाद र परिणाम दिन सक्ने सांसदलाई मन्त्री बनाउने र विज्ञ टिमसहित काम गर्ने विषयमा रास्वपा स्पष्ट रहेको ती नेताले बताए । स्वास्थ्य मन्त्रालयमा दुई डाक्टरमध्ये कसलाई पठाउने भन्ने विषयमा अझै टुंगो नलागेको रास्वपाको उच्च स्रोतले जनाएको छ ।

स्वास्थ्य मन्त्रीमा डा. लेखजंग थापा र तोसिमा कार्कीमध्ये एक जनालाई बनाउने छलफल भइरहेको छ । त्यस्तै, परराष्ट्र मन्त्रीमा शिशिर खनाल, शिक्षामन्त्रीमा सस्मित पोखरेल, सभामुखमा प्रवक्ता मनिष झा र कानुनमन्त्री सोविता गौतमलाई बनाउने विषयमा गृहकार्य भइरहेको छ । तर अहिलेसम्म टुँगो नलागेको बैठकमा सहभागी ती नेताले बताए ।

यी बाहेक बालेन टिमबाट राजुनाथ पाण्डे वा अन्यलाई मन्त्री बनाउने विषयमा पनि छलफल भइरहेको उनको दाबी छ । काठमाडौंको रोयल सिंगी होटलमा सभापति लामिछाने, वरिष्ठ नेता बालेन, उपसभापतिद्वय वाग्ले र अर्यालबीच छलफल भएको थियो । २०७९ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा रास्वपाले २१ सिट जित्दा समानुपातिक सांसदहरू डोलप्रसाद अर्याल र सुमना श्रेष्ठलाई मन्त्री बनाउँदा पार्टीभित्र ‘प्रत्यक्ष निर्वाचितलाई उपेक्षा गरिएको’ भन्दै असन्तुष्टि सुनिएको थियो ।

अब भने जनताबाट प्रत्यक्ष अनुमोदित भएका अनुहारलाई सरकारमा पठाएर कार्यसम्पादन प्रभावकारी बनाउने रणनीति रास्वपाको छ । समानुपातिक सांसदहरूलाई मन्त्री नबनाई संसदीय समितिको सभापति वा पार्टीको संगठन विभागमा महत्वपूर्ण जिम्मेवारी दिँदा पार्टीको संगठन पनि बलियो हुने र सरकारमा जानेहरूले जनताको प्रत्यक्ष म्यान्डेटको सम्मान गर्ने रास्वपाको बुझाइ छ ।

चैत १२ गते नवनिर्वाचित सांसदहरुलाई शपथग्रहण र १३ गते बालेनले प्रधानमन्त्रीको शपथ लिने मिति तय भइसकेको छ । रास्वपाका महामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार, संसदीय दलको नेता निर्वाचित गर्नका लागि मतदान गरिने छैन । ‘पार्टीका शीर्ष नेताहरुको छलफलपछि पार्टीका सबै निर्वाचित सांसदहरुका सहमतिमै दलको नेता सर्वसम्मत चयन गर्ने सहमति भइसकेको छ । सो सहमति अनुमोदनका लागि रास्वपाले १२ गते केन्द्रीय समितिको बैठक बसेर निर्णय गर्ने,’ बुर्लाकोटीले भने । सिंहदरबारमा निर्माणाधीन नयाँ संसद् भवनको मल्टिपर्पस हलमा २७४ जना सांसदलाई शपथ खुवाइनेछ । त्यसअघि सबैभन्दा ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले राष्ट्रपतिबाट शपथ लिनेछन् ।

केसीले अन्य सांसदहरूलाई शपथ गराउनेछन् । यता चैत १६ गते संघीय संसद्को अधिवेशन बोलाउने गरी तयारी गरिएको छ । निर्वाचित सांसदहरुको पहिलो अधिवेशन नयाँ भवनमा गराउने तयारी स्वरुप अहिले कार्य तीव्रगतिमा गराइदैछ । संघीय संसद सचिवालयका अनुसार ८५ प्रतिशत काम सम्पन्न भइसकेको छ । चैत १५ गतेसम्म सकिसक्नुपर्ने हो ।

Comment


Related News