निर्वाचन आयोगले फागुन २१ गते सम्पन्न निर्वाचनको प्रतिवेदन चैत ५ गते राष्ट्रपति रामचन्द्र पौडेललाई बुझाएको छ । राष्ट्रपतिलाई प्रतिवेदन बुझाएसंगै निर्वाचन आयोगको सक्रिय भूमिका सकिएको छ । नव निर्वाचित सांसदहरुको शपथ ग्रहण, पहिलो संसदको बैठक डाक्ने तथा नयाँ सरकार गठनका लागि आवश्यक सहजीकरणको काम सम्मानित राष्ट्रपतिजीले गर्नु हुनेछ ।
प्रतिनिधिसभा सचिवालयको हालसम्मको तयारी हेर्दा चैत १२ गते प्रतिनिधिसभा सदस्यहरुको शपथ ग्रहण तथा चैत १६ गते प्रतिनिधिसभाको पहिलो बैठक बस्दैछ । चैत १३ देखि १५ गतेको बीचमा मुलुकले नयाँ प्रधानमन्त्री र सरकार पाउने आशा गर्न सकिन्छ । यस प्रकार यस वर्षको नयाँ वर्ष -२०८३) मा नयाँ संसद हुनेछ । नयाँ सांसद हुने छन् अनि नेपाली जनतामा नयाँ भरोसा, नयाँ विश्सास, नयाँ उमंग र नयाँ तरङ हुने छन् ।
२७५ सदस्यीय प्रतिनिधिसभामा मधेशी दलितको अनुहार नदेखेपछि निराश भएका मनुवाहरु २०८२ को संसदमा युवा पुस्ताको निर्णायक पहुंच देखेर उत्साहित छन् । राष्ट्रिय युवा परिषद् ऐन– २०७२ तथा युवा निती– २०७२ ले १६ देखि ४० वर्ष उमेर समूहलाई युवा भनेर परिभाषित गरेको छ । यद्यपि युवा उमेरले मात्र हुने होईन । युवा भनाउन नयाँ र रचनात्मक सोंच, कडा मिहिनेत र क्रियाशीलता चाहिन्छ । नयाँ संसदमा पुगेका युवा वर्गको उत्साहले मुलुकलाई नयाँ मार्गमा अग्रसर गराउने आशा गर्न सकिन्छ ।
युवा सांसदहरुको कामकाज र शैली हेरेपछि नेपाली जनतामा नयाँ सांसदहरुप्रति जागेको आशा विश्वासमा परिणत हुने हो । गत भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनको जगमा सम्पन्न निर्वाचनबाट गठन भएको प्रतिनिधिसभामा युवा पुस्ताको वर्चस्व हुने आशा त गरिएको थियो तर नेपाली जनताले राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाली कांग्रेस र एमाले लगायतका पुराना पार्टीहरुमा पनि युवाहरुकै पक्षमा गतिविधि जनमत देलान् भने विश्वास थिएनन् । वर्तमान प्रतिनिधिसभामा २० जना बाहेक सबैजना पहिलोपटक सांसद् बनेका छन् ।
२० मध्ये पनि आधाजति अघिल्लो पटक रास्वपाबाट निर्वाचित सांसदहरु नै छन् । प्रत्यक्षमा मात्र होइन, समानुपातिकमा पनि केही सीमित व्यक्तिबाहेक अरु सबै नयाँ सांसदहरू छन् । नेकपा अध्यक्ष प्रचण्ड र वर्षमान पुन बाहेक सबैजसो पुराना नेताहरू प्रत्यक्ष निर्वाचनबाट पराजित भएका छन् । एमाले अध्यक्ष केपी शर्मा ओली, कांग्रेस सभापति गगन कुमार थापा, पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल, कांग्रेस वरिष्ट नेता डा. शेखर कोइरालासहित २०४६ साल पछिका सदाबहार नेता भनिने बिजय कुमार गच्छेदार, शरतसिंह भण्डारी लगायतलाई पनि हारको स्वाद चाख्नु परेको छ । प्रतिनिधिसभामा ९४ जना सांसदहरु ४० वर्षमुनिका छन् ।
आधा भन्दा बढी २०४६ साल पछि जन्मेका सांसदहरु छन जो ४५ वर्षमुनिका छन् । १९ जना सांसदहरू ३० वर्षमुनिका छन् । ६० कटेका सांसदहरूको संख्या ३० मात्र छन् । प्रत्यक्ष र समानुपातिक सांसदहरुको औसत उमेर ४५ वर्ष ४ महिना छ । नेपाली कांग्रेसबाट समानुपातिकमा चयन भएका अर्जुननरसिंह केसी ७८ वर्षका छन् । उमेरको हिसाबले उनि प्रतिनिधिसभाका जेष्ठ सांसद हुन् । जेष्ठ सदस्यको हैसियतले प्रतिनिधिसभाको पहिलो बैठक उनले नै चलाउने छन् ।
७० कटेका सांसदहरू पाँच जनामात्र छन् । जबकि २०७९ को निर्वाचनमा प्रत्यक्षतर्फका १६५ सांसदमध्ये ४० वर्ष मुनिका १० जना सांसदमात्र थिए भने ७० वर्षमाथिका सांसदको संख्या १४ थियो । ४० देखि ७० वर्ष उमेर समूहका सांसदहरुको संख्या लगभग १३८ थियो । २०७९ को निर्वाचनमा उप निर्वाचनसहित २१ सिट पाएको राष्ट्रिय स्वतन्त्र पार्टी यस वर्ष प्रत्यक्षतर्फ १ सय २५ र समानुपातिकतर्फ ५७ गरी कुल १८२ सिट पाएको छ । जो अघिल्लो पटकको तुलनामा १०४ सिट बढी हो । यसको विपरित गगन कुमार थापा नेतृत्वको नेपाली कांग्रेसले प्रत्यक्षमा १८ र समानुपातिकमा २० गरी कुल ३८ सिट पाएको छ ।
जो २०७९ को निर्वाचनको तुलनामा ७० सिट कम हो । केपी शर्मा ओली नेतृत्वको एमालेले प्रत्यक्षमा ९ र समानुपातिकमा १६ गरी कुल २५ सिट पाएको छ । जुन २०७९ को निर्वाचनमा पाएको सिट भन्दा ७० सिट कम हो । प्रचण्ड नेतृत्वको नेपाली कम्युनिष्ट पार्टीले प्रत्यक्षमा ८ र समानूपातिकमा ९ गरी कुल १७ सिट पाएको छ ।
जुन अघिल्लो निर्वाचनको तुलनामा २४ सिट कम हो । नयाँ शक्तिको रुपमा उदाएको श्रम संस्कृति पार्टीले प्रत्यक्षमा ३ र समानुपातिकमा ४ गरी कुल ७ सिट पाएको छ भने राप्रपाले प्रत्यक्षमा १ र समानुपातिकमा ४ गरी कुल ५ सिट पाएको छ । म्याग्दीबाट महावीर पुन निर्वाचन जित्ने एक्ला स्वतन्त्र उम्मेदवार हुन् । नेपाली जनताले पुरानालाई पाखा लगाएर नयाँ दल र नयाँ सांसदहरुलाई अवसर दिएका छन् ।
जो सराहनीय छ । तर म अझै पनि भन्छु– २०८२ को निर्वाचनमा नेपाली जनताले राष्ट्रिय स्वतन्त्र पार्टी माथि देखाएको विश्वास रास्वपाको निती, कामकाजको मूल्यांकन र बरिष्ठ नेता बालेन्द्र शाहको लोकप्रियतामात्र होइन, यस अघि राज्यका शक्तिकेन्द्रहरुमा वर्चस्व जमाएका कांग्रेस, एमाले, नेपाली कम्युनिष्ट पार्टी तथा मधेशवादी दलहरुप्रतिको आक्रोशको परिणाम हो । भनिन्छ– आक्रोशले विवेक गुमाउँछ । विवेक गुमाएकाहरु अप्रिय निर्णयहरु पनि गर्न सक्छन् ।
यही कारण हो कि मतदाताको मुटुभित्र जन्मेका आक्रोशको भेलमा पुराना दलका राम्रा नेताहरु पनि धुलिसात भए, नयाँ दलका विवादित नेताहरु पनि बैतरनी पार गरे । मेरो निजी सल्लाह छ– नयाँ सरकारको नेतृत्व गर्न लागेका रास्वपाका बरिष्ट नेता बालेन्द्र शाहले जनताको आक्रोशको मापन गर्दै राज्य संचालन गर्नु होला । नयाँ संसद सफल होस् । नयाँ सांसदहरु यशस्वी होऊन । देशले अग्रगमनको बाटो समातून । नयाँ वर्ष २०८३ शुभ होस् ।।



