२०८२ चैत्र ७, शनिबार १६:३१

शुक्रबार साँझ आएको भीषण हावाहुरीसँगै परेको असिनापानी र दिनभरको बेमौसमी वर्षाले रौतहट जिल्लालाई गम्भीर रूपमा प्रभावित बनाएको छ। अचानक आएको प्राकृतिक विपद्ले जनजीवन अस्तव्यस्त पार्नुका साथै कृषि क्षेत्रमा ठूलो क्षति पुर्‍याएको हो।

असिना र तेज हावाहुरीले सर्वसाधारणका खपडा तथा टायलले छाएका घरहरूमा क्षति पुर्‍याएको छ भने खेतबारीमा लगाइएका विभिन्न बालीहरूमा व्यापक नोक्सानी भएको छ। विशेषगरी गहुँ, उखु, मसुरो, मकै, फलफूल तथा तरकारी खेतीमा प्रत्यक्ष असर परेको छ।

पाक्नै लागेको गहुँ र घोगा लाग्ने अवस्थामा पुगेको मकै बाली तीव्र हावाहुरीका कारण ढलेर नष्ट भएको छ। यसले किसानहरूलाई ठूलो आर्थिक संकटतर्फ धकेलेको छ।

गुजरा नगरपालिकाका कार्यपालिका सदस्य विजय साह बनियाका अनुसार यसअघि आएको हावाहुरीले आंशिक रूपमा क्षति पुर्‍याएको मकै बाली यसपटकको असिना र आँधीले पूर्ण रूपमा नष्ट गरिदिएको छ। उनका अनुसार बाँकी रहेको बाली पनि जोगिन सकेन।

यस्तै, बृन्दावन नगरक्षेत्रमा करिब २०० बिघामा गरिएको मकै खेतीमध्ये अधिकांश नष्ट भएको छ। प्रारम्भिक अनुमानअनुसार सो क्षेत्रमा मात्र १ करोड रुपैयाँभन्दा बढीको क्षति भएको स्थानीयले बताएका छन्।

चन्द्रपुर, गुजरा, फतुवा विजयपुर र कटहरिया नगरपालिकामा समेत मकैसहित अन्य बालीमा व्यापक क्षति पुगेको छ। बिहानैदेखि परेको वर्षाले जिल्लाका १८ वटै स्थानीय तहमा लगाइएका गहुँ, मकै र मसुरो बालीमा करोडौँको नोक्सानी गरेको अनुमान गरिएको छ।

घटनापछि स्थानीय तह तथा सम्बन्धित निकायहरूले क्षतिको विवरण सङ्कलन कार्य सुरु गरेका छन्। प्रभावित किसानहरूले तत्काल राहत र क्षतिपूर्ति उपलब्ध गराउन सरकारसँग माग गरेका छन्।

Comment


Related News

Latest News

Trending News