जनकपुरधाममा फुटपाथ अतिक्रमण गरेर व्यवसाय गरेपछि मधेस सरकारका गृह तथा सञ्चार मन्त्रीको नेतृत्वमा खाली गराइएको छ ।
गृहमन्त्री फकिरा महतोको नेतृत्वमा जनकपुरधामको रामानन्द चौकस्थित नेपाल प्रहरी, सशस्त्र प्रहरी र नगरप्रहरीले फुटपाथ खाली गराएको हो ।
सडकपेटीका अतिक्रमण गरेर व्यवसायीले सामान राखेपछि सर्वसाधारण सडकमा हिन्न बाध्य भएका थिए । जनकपुरधाम उपमहानगरपालिकाले समेत पटक पटक फुटपाथ खाली गराउन आग्रह गरेपनि व्यवसायीले खाली गरेका थिएनन् ।
मन्त्री महतोले जनकपुरधाम उपमहानगरपालिका, जनकपुरधाम उद्योग वाणिज्य संघ, चेम्बर अफ कमर्स लगायतको समर्थनमा आफू अगुवाई गरेर फुटपाथ खाली गराउन लागेको बताए ।
उनले अहिले हटाएपछि पुनः फुटपाथ अतिक्रमण गरेमा कारबाही गरिने बताए । यस अघि २ दिन पहिला उनले जानकी मन्दिर वरिपरिका क्षेत्र खाली गराएका थिए ।



