२०८२ चैत्र ९, सोमबार ०७:०२

हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी -राप्रपा) का प्रमुख सचेतकले राज्यबाट सुविधा नपाउने भएका छन् ।

फागुन २१ गते भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा श्रम संस्कृति पार्टीले प्रत्यक्षमा तीन र समानुपातिकमा चार गरी सात सिट जितेको छ भने राप्रपाले प्रत्यक्षमा एक र समानुपातिकमा चार गरी पाँच सिट जितेको छ ।

यद्यपी यी दुबै पार्टीले राष्ट्रिय दलको मान्यता पाए पनि पार्टीका प्रमुख सचेतकले भने सरकारबाट पाउँदै आएको सेवा सुविधा लिन नपाउने भएका छन् । संघीय संसद सचिवालयले जनाए अनुसार कुनै पनि पार्टीका प्रमुख सचेतकले संसदबाट सुविधा लिन कम्तिमा १० जना सांसद हुनुपर्छ। श्रम संस्कृति र राप्रपाले सुविधा प्राप्त गर्न उक्त सीमा पार गर्न सकेनन् ।

संघीय संसद् सचिवालयका सहसचिव कान्छा दुलालले जनाए अनुसार संघीय संसद्का पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधासम्बन्धी ऐन २०७३ अनुसार १० जना सदस्य रहेको दलले मात्रै प्रमुख सचेतकको सुविधा पाउँछन् ।

संघीय संसद्का पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधासम्बन्धी ऐनको अनुसूची २ अनुसार दलको प्रमुख सचेतकले सवारी सुविधा र प्रथम स्तरको दुई जना सवारीचालक प्राप्त गर्ने उनले बताए ।

राष्ट्रिय मान्यता प्राप्त गर्न प्रत्यक्षतर्फ कम्तिमा एउटा सिट जितेको र समानुपातिकतर्फ कम्तीमा ३ प्रतिशत मत प्राप्त गरेको हुनुपर्छ । यस्तो थ्रेसहोल्ड पार गरे पनि प्रमुख सचेतकको सुविधा पाउन १० जना भन्दा बढी सांसद भएको दल हुनुपर्ने व्यवस्था गरिएको छ ।

संसद्मा राष्ट्रिय स्वतन्त्र पार्टी -रास्वपा)का १८२, कांग्रेसका ३८, एमालेका २५ र नेपाली कम्युनिस्ट पार्टीका १७ जना सांसद छन् । यी चार दलका प्रमुख सचेतकले भने सुविधा पाउनेछन् ।

यता श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ राईले पार्टीलाई कुनै सुबिधा नदिने भए मन्त्रीहरुले पनि सुबिधा लिन नपाउने बताएका छन् ।

Comment


Related News

Latest News

Trending News