लुम्बिनी प्रदेशको कपिलवस्तुमा शनिबार बिहानैदेखि शुरु भएको हिन्दू–मुस्लिम समुदायबीचको विवाद अझै पनि साम्य हुन सकेको छैन । तर दलहरूले दुई समुदायबीचको विवाद समाधानका लागि अगुवाइ गरेपछि प्रदर्शन तथा कुनै पनि अप्रिय घटना घटेका छैनन् । सर्वदलीय बैठकमा सबै दलले साम्प्रदायिक गतिविधि बढ्न नदिन प्रतिबद्धता व्यक्त गरेको छ ।
शनिबारदेखि जारी निषेधाज्ञा भने थपिएको छ । महाराजगञ्ज नगरपालिका क्षेत्रका केही स्थानमा आइतबार पनि स्थानीय युवाहरूले प्रदर्शन जारी राखेपछि नियन्त्रणमा लिनका लागि प्रहरीले लाठीचार्ज गरेको थियो । स्थिति नियन्त्रणमा लिन सुरक्षाकर्मी उच्च सतर्कतामा राखिएको छ । मुस्लिम समुदायले ईद पर्व मनाइरहेका बेला शनिबार महाराजगञ्ज नगरपालिका–२ अन्तर्गत बरगदा र बहादुरगञ्ज क्षेत्रमा दुई समुदायबीच झडप भएको थियो ।
झडप नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गरेको थियो । सो क्रममा गोली लागेर ४ जना घाइते भएका छन् भने केही प्रहरीसमेत घाइते भएका छन् । घटनापछि स्थानीय प्रशासनले शनिवार दिउँसो २ बजेदेखि अर्को आदेश नभएसम्मका लागि निषेधाज्ञा जारी गरेको थियो । हिजोदेखि सुरु भएको उक्त निषेधाज्ञा आज सकिएपछि लगत्तै शुरु गरिएको छ ।
शनिवार बहादुरगञ्ज क्षेत्रमा मात्रै लगाइएको निषेधाज्ञा आइतबार भने जिल्ला सदरमुकामसंगै दक्षिणी क्षेत्रमा समेत थपिएको छ । कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले विवाद समाधानका लागि सर्वदलीय तथा सर्वपक्षीय छलफलले सहजता भएको जानकारी दिए । प्रहरीका अनुसार चैत ७ गते मुस्लिम समुदाय मस्जिदमा नमाज पढिरहेका बेला नजिकै रहेको मन्दिरमा डिजे बजाएपछि विवाद शुरु भइ स्थिति तनावपूर्ण बन्दै जाँदा दुवै पक्षबीच झडप भएको थियो ।
घटनाका क्रममा केही स्थानमा मन्दिर र मस्जिदमा तोडफोडसमेत भएको जनाएको छ । चैती दशैँको क्रममा हिन्दू समुदायले पनि मन्दिरमा विभिन्न धार्मिक कार्यक्रम गर्ने परम्परा रहेकाले दुवै पक्षबीच असमझदारी बढेको छ । यता जिल्ला प्रशासन कार्यालय तौलिहवाले आइतबारदेखि लागु हुने गरी थप क्षेत्र समेटेर निषेधाज्ञा जारी गरेको छ ।
प्रमुख जिल्ला अधिकारीको आदेशअनुसार जिल्ला सुरक्षा समितिको निर्णयबमोजिम चैत ८ गते दिउँसो १ बजेदेखि अर्को आदेश नभएसम्म लागु हुने गरी निषेधाज्ञा जारी गरिएको छ । स्थानीय प्रशासन ऐन अनुसार तोकिएको क्षेत्रमा कुनै पनि प्रकारका भेला, सभा, जुलुस तथा प्रदर्शन गर्न पूर्ण रूपमा रोक लगाइएको छ ।
सात दिनको बिदा लिएर गएका प्रमुख जिल्ला अधिकारी गौतम जिल्लामा उत्पन्न विवादपछि शनिबार राती नै जिल्ला फर्केका छन् । सात दिनको बिदामा गएका उनी बिदा छोट्टाएर काममा फर्केको बताए । त्यस्तै डिएसपी हितेन्द्रकुमार सिंह पनि बिदामा रहे पनि उनले बिदा छोट्टाएर काममा आएका छन् ।
यता कपिलवस्तु नगरपालिकाले जिल्लामा भएको अशान्त वातावरणले विभिन्न शैक्षिक संस्थाले लिन थालेका परीक्षाहरू पनि रोकेको छ । आइतबारदेखि सम्पूर्ण परीक्षाहरू स्थगित गरिएको जनाएको छ ।


