२०८२ चैत्र ९, सोमबार ०७:०१

पर्साको वीरगगञ्जको हरि खेतान बहुमुखी क्याम्पसमा उत्पन्न विवाद साम्य भएको छ । पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालले क्याम्पस प्रमुख र सञ्चालकलाई ‘नालायक’ व्यवस्थापन भनेपछि झन्डै नौ घण्टा पछाडि छलफलले मूर्तरूप लिएको छ ।

प्रजिअ दाहालले सहमति नहुने र बजारमा आन्दोलन हुने छनक पाएपछि छलफलमा बोल्दै सञ्चालक र क्याम्पस प्रमुखलाई कडा शब्दमा आलोचना गरेका थिए । विद्यार्थीहरुसंगको छलफलमा उनीहरूकै अगाडि क्याम्पस सञ्चालकलाई प्रजिअ दाहालले कडा शब्द बोलेपछि दुवै पक्षबीच सहमति भएको छ ।

तत्काल कुनै विरोधका कार्यक्रम नगर्ने गरी आन्दोलनरत विद्यार्थीहरू र क्याम्पस सञ्चालकसंग तीन बुँदे सम्झौता भएको पर्साका प्रजिअ दाहालले बताए । स्थगित गरिएको कक्षा ११ र १२ को आन्तरिक परीक्षा तत्काल शुरु गर्ने, आन्दोलनमा घाइते भएका विद्यार्थीहरूको उपचारको व्यवस्था क्याम्पसले गराउने र विद्यार्थीहरूको वास्तविक समस्या र कलेजका अन्य मुद्दाहरूबारे मंगलबार पुनः छलफलको माध्यमले टुंग्याउने गरी तीन बुँदे लिखित सम्झौता भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

लामो छलफल पश्चात् यही तीन बुँदे सम्झौता भएपछि विवाद मत्थर भएको पर्साका प्रजिअ दाहालले जानकारी दिए । हरि खेतान बहुमुखी क्याम्पसका विद्यार्थीहरूले आइतबार आन्तरिक परीक्षा दिने कार्यतालिका थियो । सोही कार्यतालिका बमोजिम बिहान ८ बजेदेखि …प्लस टुÚ का विद्यार्थीहरू क्याम्पसमा पुगेका थिए ।

परीक्षाका लागि परीक्षा केन्द्रमा प्रवेश गरिसकेका विद्यार्थीहरूलाई पछि एक्कासी सूचना निकालेर तत्कालका लागि शैक्षिक पठनपाठनसहित सबै परीक्षा स्थगित गरिएको क्याम्पस प्रशासनबाट जानकारी गराइएको थियो । क्याम्पस प्रमुख रवीन्द्र यादवले अचानक एक सूचना जारी गर्दै तत्कालका लागि सबै परीक्षा स्थगित भएको जानकारी गराए ।

क्याम्पस प्रमुख यादवको सूचना आइसकेपछि विद्यार्थीहरू आक्रोशित बन्दै सुरुमा नाराबाजी तथा प्रदर्शन गर्न थालेको ठाकुर बहुमुखी क्याम्पसका स्वतन्त्र विद्यार्थी युनियनका सभापति राज यादवले बताए । उनले विद्यार्थीहरूको प्रदर्शन चलिरहेको बेला प्रहरी क्याम्पस परिसरमा पुगेपछि विरोध झन् उग्र रूप लिएको थियो ।

यसरी प्रहरी र विद्यार्थीहरुसंग भएको विवादमा केही विद्यार्थीहरू घाइतेसमेत भएको जनाइएको छ । क्याम्पस प्रमुख यादवले जनाए अनुसार तीन जना विद्यार्थीहरूलाई चोटपटक लागेको तथा क्याम्पसका गाडीमा समेत तोडफोड भएको छ । त्यसपछि माहोल अझ उग्र बन्दै गएपछि जिल्ला प्रशासन कार्यालयले छलफलका लागि विद्यार्थी, क्याम्पस सञ्चालक र प्रमुखसहित स्ववियुका पदाधिकारीहरूलाई आफ्नो कार्यालयमा डाकेको थियो ।

अन्ततः उक्त छलफलले निकास निकाल्दै समस्या समाधान गरेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । जिल्ला प्रशासन कार्यालयमा भएको छलफलमा क्याम्पस प्रशासन र शिक्षकहरूबीच आन्तरिक द्वन्द्व रहेको देखिएको छ । उक्त बैठकमा शिक्षकहरूले लामो समयदेखि लब नपाएको गुनासो गरेको पर्साका प्रमुख जिल्ला अधिकारी दाहालले बताए ।

तलबको समस्याका कारण शिक्षकहरू नआएपछि विवाद बढेको उनको कथन छ । यता क्याम्पस प्रमुख यादवले पनि शिक्षकहरू बिहान परीक्षा हलमा नआएपछि परीक्षा स्थगित गरेको बताए ।

Comment


Related News

Latest News

Trending News