२०८२ चैत्र १०, मंगलवार ०७:०२

सापटी फिर्ता वापतको रकम माग्दा रौतहटको कटहरिया नगरपालिका–८ स्थित पिप्रा पोखरियामा आमा– छोरीमाथि निर्घात कुटपिट भएको घटना सार्वजनिक भएको छ ।

स्थानीय ४५ वर्षीया भागमणी देवीमाथि उनका देवर नाता पर्ने ३५ वर्षीय छोटेलाल यादवले आक्रमण गरेका छन् । पीडितले जनाए अनुसार केही महिनाअघि छोटेलालले भागमणीसँग १ लाख २० हजार रुपैयाँ सापटी लिएका थिए ।

आइतबार एक व्यक्तिले छोटेलाललाई दिनुपर्ने १० हजार रुपैयाँ भागमणीको ई–सेवामा पठाएपछि सोही रकम लिन उनी भागमणीको घर पुगेका थिए । तर, भागमणीले आफूले पाउनुपर्ने रकम कटाएर बाँकी १ लाख १० हजार रुपैयाँ दिन आग्रह गरेपछि विवाद चर्किएको थियो ।

सो विवादकै क्रममा छोटेलालले बाँसको लाठी प्रयोग गरी भागमणी र उनकी १० वर्षीया छोरी रबिता कुमारीमाथि कुटपिट गरेको पीडित परिवारको भनाइ छ ।

कुटपिटबाट रबिताको देब्रे हात भाँचिएको छ भने भागमणीको देब्रे हातमा गम्भीर चोट लागेको छ । यसका साथै उनको शरीरका विभिन्न भागमा निलडाम देखिएको बताइएको छ ।

पीडित परिवारका अनुसार आक्रमणकारीले भागमणीको भैंसी र बाख्रालाई समेत कुटपिट गरी गम्भीर अवस्थामा पु¥याएका छन् । घटनापछि पीडितलाई तत्काल कटहरिया बजारस्थित एक निजी अस्पतालमा उपचारका लागि लगिएको थियो । हाल उनीहरूको उपचार भइरहेको जनाइएको छ ।

यस घटनालाई लिएर पीडित पक्षले पत्रकार सम्मेलन गर्दै न्यायको माग गरेका छन् । भागमणी देवीले गाउँकै एक जना जनप्रतिनिधिले उजुरी नगर्न दबाब दिँदै (गाउँमै मिलाइदिन्छु) भन्दै धम्की दिएको आरोप लगाएकी छन् । उनले यसअघि पनि पटक पटक कुटपिटको शिकार भए पनि दबाबका कारण न्याय पाउन नसकेको गुनासो गरिन् । इलाका प्रहरी कार्यालय कटहरियाका प्रमुख सई धर्मेन्द्र पौडेलले घटनाको पुष्टि गर्दै दोषीमाथि कानुनी कारबाहीका लागि आवश्यक अनुसन्धान भइरहेको उनले बताए ।

Comment


Related News

Latest News

Trending News