अस्ताउँदो सूर्यलाई अघ्र्य अर्पण गरी मंगलबार साँझ जनकपुरधामसहित मधेशमा चैती छठ मनाइँदै छ । सूर्य उपवासना परम्पराको मोहक पद्धति मानिएको संसारमा यही एक यस्तो पर्व हो । जसमा अस्ताउँदो र उदाउँदो सूर्यलाई अघ्र्य दिइ पूजा गरिन्छ ।
चार दिनसम्म विभिन्न विधि गर्दै मनाइने छठ पर्व पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिराहा, सप्तरी, सुनसरीलगायत तराई–मधेश– मिथिलाञ्चल भरिनै धूमधामका साथ मनाइँदै छ । छठ पर्व धनुषासहितको विभिन्न क्षेत्र तथा सहरी क्षेत्रमा रहेका विभिन्न पोखरी, तलाउ तथा नहरको किनारमा अघ्र्य दिनका लागि भक्तजनको तयारी भइरहेको छ ।
सत्य तथा अहिंसाप्रति मानवको रुचि बढाउन र सबै जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्नु यस पर्वको विशेषता रहेको छ । सूर्यको उपवासना गरिने पर्वमा अस्ताउँदो र उदाउँदो सूर्यको पूजा गरिन्छ । यस अवसरमा पोखरी, नदी, तलाउ र जलाशयमा श्रद्धालु भक्तजनको भीड लाग्ने गर्दछ ।
चार दिनसम्म मनाइने यस पर्वको पहिलो दिन मंगलबार व्रतालुहरूले (नहाय खाय) अर्थात् नुहाएर खाने गर्दछ वा जीउ चोख्याउने काम गर्दछन् । यस अघि सोमबार चैती छठ अन्तर्गतको खरना विधि सम्पन्न भएको छ ।
खरनाको दिन व्रतालुहरूले दिनभरि उपवास निराहार बसेर राति छठी मातालाई आगमनको निम्तो दिँदै कुल देवताको पूजा गरेका थिए र राति अरवा अरबाइन (विना नुन हालेका)े खानेकुरा खाएका थिए ।
त्यस्तै तेस्रो दिन मंगलबार साँझ गहुँ र चामल ओखल, जाँतो वा ढिकीमा कुटिएर बनाइएको पीठोबाट विभिन्न परिकारसहितका ठकुवा, खजुरिया, पेरुकिया जस्ता पकवान र विभिन्न फलफूल तथा मूला, गाजर, बेसारको गाँहो, भोगटे, ज्यामिरी, नरिवल, सुन्तला, केरा नाङ्लो, कोनिया, सरवा, ढाकन, माटोको हात्ती, ठूलो ढक्कीमा राखी परिवारका सम्पूर्ण सदस्य विभिन्न भक्ति एवम् लोकगीत गाउँदै निर्धारित जलाशय नजिक बनाएको छठ घाटसम्म पुग्छन् ।
षष्ठीका दिन व्रतीले सन्ध्याकालीन अघ्र्यका लागि पानीमा पसेर सूर्य अस्ताउञ्जेलसम्म अस्ताउँदो सूर्यलाई आराधना गर्दै दुवै हत्केलामा पिठार र सिन्दूर लगाएर अक्षता फूल हालेर अन्य अघ्र्य सामग्री पालैपालो गरी अस्ताउँदो सूर्यलाई अघ्र्य अर्पण गर्नेछन् । अन्तिम दिन एकाबिहानै पुनः छठ घाटमा पुगी जलाशयमा पसेर अघिल्लो दिन गरेको क्रम दोहो¥याइ प्रातः कालीन उदाउँदो सूर्यलाई अघ्र्य दिइ छठ पर्व सम्पन्न गर्नेछन् ।



