सप्तरीको सुरुंगा नगरपालिका–३ स्थित लक्ष्मीपुरकी १४ वर्षीया दलित बालिका बेपत्ता भएको घटना रहस्यमय बनेको छ । किशोरी ७ महिनाकी गर्भवती रहेको दाबी गर्दै आफन्तले (संरक्षक)को रूपमा रहेका व्यक्तिसहित चारजनाविरुद्ध जबर्जस्ती करणीको आरोप लगाउँदै प्रहरीमा उजुरी दिएका छन् ।
गत सातादेखि सम्पर्कविहीन भएकी ती बालिकाको खोजीका लागि प्रहरीले तीव्रता दिएको जनाएको छ । बालिकाका आफन्तका अनुसार सानै उमेरमा आमाबुवा गुमाएकी उनलाई स्थानीय महेश्वर यादवले पालनपोषण गर्ने भन्दै करिब एक दशकअघि आफ्नो घरमा राखेका थिए । तर पढाइको व्यवस्था नगरी घरेलु काममा लगाइएको र यसबीचमा यौन शोषण गरी गर्भवती बनाइएको आरोप उजुरीमा उल्लेख गरिएको छ ।
बालिकाकी भाउजुले दिएको जाहेरीमा महेश्वर यादव, उनका छोरा कुन्दन यादव, वडा सदस्य बद्री यादव र स्थानीय धर्मदेव यादवमाथि अनुसन्धान गरी कारबाही गर्न माग गरिएको छ । घटनापछि बालिका कहाँ छन् भन्नेबारे स्पष्ट जानकारी नभएको प्रहरीले जनाएको छ ।
प्रारम्भिक रूपमा उनलाई वडा नं. ४ कनकपुर मुसहरी टोल बस्ने दिदीले लगेका भनिए पनि त्यहाँ पनि नभेटिएको र आरोपितहरू समेत फरार रहेकाले घटना थप जटिल बनेको छ । जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डम्बरबहादुर पुरीका अनुसार बालिका बेपत्ता र जबर्जस्ती करणीसम्बन्धी उजुरी दर्ता भइसकेको छ । (बालिकाको अवस्थाबारे यकिन हुन सकेको छैन । खोजतलास तीव्र पारिएको छ । फेला परेपछि मात्रै वास्तविकता बाहिर आउनेछ,) उनले भने ।
प्रहरीका अनुसार बालिका भेटिएपछि स्वास्थ्य परीक्षणमार्फत गर्भावस्था पुष्टि गरिने र त्यसपछि घटनाको प्रकृति अनुसार थप अनुसन्धान अघि बढाइनेछ । उता, स्थानीय जनप्रतिनिधिहरूले घटनाको निष्पक्ष छानबिनको माग गरेका छन् । सुरुंगा–३ का वडाध्यक्ष किरणकुमार पोखरेलले दोषीलाई कानुनी दायरामा ल्याउनुपर्नेमा जोड दिँदै निर्दोषलाई फसाउन नहुने बताएका छन् ।
बालिकाका दिदीहरू समेत सम्पर्कविहीन रहेकाले उनीहरूको खोजी पनि भइरहेको प्रहरीले जनाएको छ । घटना संवेदनशील र गम्भीर प्रकृतिको भएकाले सबै पक्षको खोजी तथा अनुसन्धान जारी रहेको सप्तरी प्रहरीले जनाएको छ ।


