रौतहटको चन्द्रपुर नगरपालिका–१ नुनथरस्थित बागमती नदीमा डुबेर बेपत्ता भएका एक व्यक्तिको शव तीन दिनपछि फेला परेको छ।
सर्लाहीको बागमती नगरपालिका–४ नयाँबस्ती निवासी करिब ४० वर्षीय कामी सिंह स्याङतान चैत ७ गते बिहान करिब साढे १० बजेतिर माछा मार्ने क्रममा नदीमा डुबेर बेपत्ता भएका थिए। घटनालगत्तै उनका भतिजो कान्छा लामाले प्रहरीलाई खबर गरेका थिए।
सूचना प्राप्त हुनासाथ प्रहरी चौकी पौराईबाट टोली खटिएको थियो भने इलाका प्रहरी कार्यालय चन्द्रपुरबाट डिएसपी रुपा लाबुङको नेतृत्वमा थप खोजी अभियान सञ्चालन गरिएको थियो। खोजी कार्यमा चपुरस्थित नेपाली सेना, सशस्त्र प्रहरी बल सन्तपुर क्याम्प र इलाका प्रहरी कार्यालय कर्मैया, सर्लाहीको समेत संयुक्त सहभागिता रहेको थियो।
चैत ८ र ९ गते लगातार डुंगा प्रयोग गरी बागमती नदीमा व्यापक खोजी गरिएको थियो। सोही क्रममा आज बिहान करिब साढे ७ बजेतिर नुनथर झोलुङ्गे पुलभन्दा करिब १०० मिटर उत्तरतर्फ नदीमा स्याङतानको शव तैरिरहेको अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ।
फेला परेको शव संयुक्त सुरक्षा टोलीले डुंगाको सहायताले बाहिर निकाली पोस्टमार्टमका लागि चन्द्रनिगाहपुर सरकारी अस्पताल पठाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


