नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी बैठकमा १५औँ महाधिवेशन बोलाउने विषय प्रमुख एजेन्डाका रूपमा छलफल भइरहेको छ।
कांग्रेसले आगामी भदौ २४ गते संस्थापक बीपी कोइरालाको जन्मजयन्ती पारेर महाधिवेशन उद्घाटन गर्ने तयारी गरेको बताइएको छ।
बैठकमा सभापति गगनकुमार थापाले सम्बोधन गर्दै आफ्नो हालैको राजीनामाबारे स्पष्टीकरण दिएका छन्। उनले आफू कुनै दबाबमा नभई स्वेच्छाले राजीनामा दिने निर्णयमा पुगेको बताएका छन्।
थापाले निर्वाचनलगत्तै राजीनामा दिन चाहेको तर केही प्राविधिक कारणले ढिलाइ भएको उल्लेख गरे। उनले चैत ३ गते नै राजीनामाको विषय टुंग्याएको जानकारी दिए।
पार्टीभित्रका उपसभापति र महामन्त्रीहरूसमेतप्रति आफू जवाफदेही हुनुपर्ने महसुस गर्दै राजीनामा दिएको उनले बताए । उनले यसबीच कार्यकर्ताबाट ठूलो माया, विश्वास र समर्थन पाएको पनि बताए।
गत बुधबार दिएको थापाको राजीनामा आइतबार बसेको केन्द्रीय कार्यसमिति बैठकले अस्वीकृत गरेको थियो। त्यसपछि मंगलबारको बैठकमा उनी सहभागी भएर सम्बोधन गरिरहेका हुन्।
उनले महाधिवेशनको समय र प्रक्रियाबारे आफूले प्रस्तावहरू राख्ने पनि जानकारी दिएका छन्।


