२०८२ चैत्र ११, बुधबार ०८:११
धनुषाको मिथिला नगरपालिका–७ स्थित एक्लेबरमा जङ्गली चितुवा देखापरेपछि स्थानीयहरु त्रसित बनेका छन् ।
मिथिला नगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष रामबहादुर स्याङ्दनले मंगलबार बिहानतर्फ एक्लेबरस्थित विक्रम थिङको घर अगाडि चितुवा देखिएको जानकारी दिए । उनले केही दिन अगाडि चितुवाले एउटा बाख्रा खाइदिएको र अर्को एक बाख्रालाई घाइते बनाएको समेत बताए । जंगलको नजिक रहेको बस्तीमा चितुवा देखा परेको बारे डिभिजन वन कार्यालय धनुषालाई जानकारी गराएको उनको भनाइ छ । वडाध्यक्ष स्याङ्दनले बस्ती नजिक चितुवा देखिएपछि स्थानीय त्रसित भएको बताए ।
डिभिजन वन कार्यालय धनुषाका डिभिजनल प्रमुख विनोद सिंहले स्थानीयलाई सतर्क रहन आग्रह गरेका छन् ।


