नेपाली कांग्रेसले भ्रष्टाचारसम्बन्धी बिभिन्न प्रकरणको छानविनलाई पहिलो प्राथमिकता दिएर अघि बढाउन नयाँ सरकारलाई सुझाव दिएको छ ।
बिहीबार पार्टी कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा कांग्रेस प्रवक्ता देवराज चालिसेले मुलुकमा सुशासन कायम गर्नका लागि बिभिन्न भ्रष्टाचार प्रकरणको छानविनलाई पहिलो प्राथमिकता दिएर अघि बढाउन नयाँ सरकारलाई सुझाव दिनुभएको हो ।
बिभिन्न प्रकरणलाई राजनीतिक बहस, पार्टीसंग जोड्ने र जनमत प्रभावित पार्ने बिषय बनाउन नहुने उहाले बताउनुभयो । प्रवक्ता चालिसेले संसदमा कांग्रेसले प्रभावकारी भूमिका निर्वाह गर्ने जानकारी दिदै पार्टीको संशोधित विधानले सांसदहरुको प्रस्तुती र कार्यमूल्यांकन गर्ने विधि अपनाएकाले त्यसअनुसार अघि बढ्ने उल्लेख गर्नुभयो । त्यस्तै उहाले जेनजी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन प्रथम दृष्टिमा नै अस्पष्ट र अपूर्ण देखिएको धारणा राख्नुभयो ।
कार्की आयोग र मानवअधिकार आयोगको प्रतिवेदन पार्टीले अध्ययन गरेपनि विस्तृत धारणा सार्वजनिक हुने उहाको भनाइ छ । प्रवक्ता चालिसेले पार्टी महाधिवेशनमा होमिसकेकाले कुनै पक्ष बिपक्ष भन्दा पनि पार्टीलाई एकढिक्का बनाएर अघि बढ्नुपर्ने बताउनुभयो ।
उहाले पार्टीभित्र केहि मत–मतान्तर भएपनि आन्तरिक लोकतन्त्र नै पार्टीको सवैभन्दा ठूलो शक्ति भएको उल्लेख गर्नुभयो ।


