चैत शुक्ल पक्ष नवमीका दिन मर्यादा पुरुषोत्तम भगवान् रामचन्द्रको जन्मदिन श्रद्धापूर्वक मनाइँदैछ । तर रामनवमीको अवसरमा आयोजना गरिने धार्मिक यात्रामाथि जिल्ला प्रशासन कार्यालय धनुषाले रोक लगाएपछि स्थानीयवासी भने असन्तुष्ट छन् ।
हिन्दू धर्मावलम्बीहरुको मुख्य आस्थाको केन्द्र रहेको जनकपुरधाममा नै जिल्ला प्रशासन कार्यालयले धार्मिक यात्रा गर्नमाथि लगाएको रोकप्रति यहाँका सर्वसाधारणहरुसमेत आक्रोशित भएका छन् । रामनवमीको अवसर पारेर विभिन्न तीन वटा धार्मिक संघसंगठनले धार्मिक यात्रा अन्तर्गत शोभायात्रा, बाइक ¥याली तथा सार्वजनिक प्रदर्शनमा रोक लगाएपछि आक्रोशित हुँदै आफ्नो धार्मिक यात्रा नरोकिने चेतावनीसमेत दिएका छन् ।
जिल्ला प्रशासन कार्यालय धनुषाद्वारा जारी गरिएको पत्र अनुसार जिल्ला सुरक्षा समितिको बैठकबाट हालको अवस्थालाई मध्यनजर गर्दै कुनै पनि संघसंस्था वा निकायलाई सभा, जुलुस, ¥याली र प्रदर्शन गर्न अनुमति दिन उपयुक्त नहुने जनाएको छ । सो निर्णयका आधारमा प्रशासनले चैत १३ गते पर्ने राम नवमीका दिन शोभायात्रा तथा बाइक ¥याली जस्ता कार्यक्रम नगर्न/नगराउन निर्देशन दिएको जनाएको छ ।
यता राष्ट्रिय एकता दल धनुषाले प्रशासनको सो निर्णयप्रति आपत्ति जनाउँदै अस्वीकार गर्ने जनाएको छ । दलका प्रदेश इन्चार्ज मनिष पुर्वेले जारी गरेको प्रेस विज्ञप्तिमा नेपालको संविधानले दिएको धार्मिक स्वतन्त्रताको अधिकारमाथि हस्तक्षेप भएको भन्दै असंवैधानिक र पक्षपातपूर्ण निर्णय भएको उल्लेख जनाएको छ ।
उक्त विज्ञप्तिमा रामनवमीको शोभायात्रा तथा धार्मिक कार्यक्रमहरू शान्तिपूर्ण रूपमा आयोजना गरिने स्पष्ट पार्दै प्रशासनको निर्णयले धार्मिक अधिकार खोस्न नसक्ने चेतावनी दिएको छ ।
यता धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद लुइँटेलले धार्मिक यात्राका नाममा धार्मिक सद्भाव बिगार्ने योजना रहेकाले शान्ति सुरक्षालाई मध्यनजर गर्दै रोक लगाएको दाबी गरे । उनले धार्मिक संघसंगठनले शुक्रबार हुने रामनवमी दिवसको अवसर पारेर केही उच्छृंखल गतिविधि हुने सूचना आएपछि सार्वजनिक रुपमा हुने धार्मिक यात्रामाथि रोक लगाएको बताए ।


